
खरसाङ, 0६ नोभेम्बर (हि.स.)। नेपालीहरूको महान् चाड तिहारको रमझमसँगै धनतेरसको अवसरमा खरसाङ बजारमा मानिसहरूको उल्लेखनीय भीड देखिए पनि व्यापार भने विगतका वर्षहरूको तुलनामा घटेको व्यापारीहरूले बताएका छन्।
तिहारको तयारीका लागि आवश्यक सामग्री खरिद गर्न बजारमा मानिसहरूको चहलपहल देखिएको थियो। विशेषगरी धनतेरसका सामग्री खरिद गर्नेहरूको भीड बढी देखिएको थियो। तर महँगीको मारका कारण यसपटक उपभोक्ताहरूले कम सामान खरिद गरेको व्यापारीहरूको भनाइ छ।
यस वर्ष खरसाङ बजारमा स्थानीय रूपमा उत्पादित सयपत्री र मखमली फूलको तुलनामा तराई क्षेत्रबाट ल्याइएका फूलहरू बढी देखिएका छन्। बजारका केही स्थानमा मात्र सिटोङ क्षेत्रबाट ल्याइएका सयपत्री तथा मखमली फूल बिक्रीका लागि राखिएको थियो। यसका साथै धानको बाला र अन्य फूलहरू पनि तराई क्षेत्रबाट ल्याएर बिक्री गरिएको देखिएको छ। बजारमा कृत्रिम फूलहरूको बिक्रीसमेत उल्लेखनीय रूपमा बढेको छ।
नेपाली परम्पराअनुसार तिहारमा सयपत्री, मखमली, कुचो, माना, नाङ्लो, डोको, थुन्चे, बेसार र नुनजस्ता सामग्रीको विशेष महत्त्व रहे पनि पछिल्लो समय धनतेरसमा पित्तलका सामग्री खरिद गर्ने चलनप्रति बढी आकर्षण देखिएको स्थानीयको भनाइ छ।
यस विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै खरसाङ बजारका व्यापारी तथा खरसाङ हाट बजार व्यवसायी सङ्गठनका सभापति राजु सेवाले यसपटकको तिहारमा विगतका वर्षहरूमा जस्तो हर्षोल्लास र उत्साह नरहेको बताए। उनले महँगीका कारण धनतेरसको अवसरमा समेत अपेक्षाअनुसार व्यापार हुन नसकेको उल्लेख गरे।
उनले नेपाली परम्पराअनुसार तिहार मनाउनुको सट्टा अन्य समुदायको परम्परालाई पछ्याउने प्रवृत्ति बढ्दै गएको बताउँदै नेपाली संस्कार र परम्पराअनुसार आवश्यक सामग्री खरिद गर्नुपर्नेमा जोड दिए। साथै, उनले आज काग तिहार रहेको पनि स्मरण गराए।
हिन्दुस्थान समाचार / हनोक