
गेजिङ, 06 नोभेम्बर (हि.स.)। आगामी चाडपर्वलाई ध्यानमा राख्दै श्रमसम्बन्धी कानुनको पालना, सार्वजनिक सुरक्षा, स्वच्छता तथा सरसफाई र सिक्किममा प्रतिबन्धित पटेकाको बिक्री तथा भण्डारण नियन्त्रण गर्न जिल्ला प्रशासनले आज देन्ताम बजारमा संयुक्त निरीक्षण गरेको छ। निरीक्षण गेजिङका एडीएम सुरेश राईको नेतृत्वमा सम्पन्न गरियो।
निरीक्षणका क्रममा टोलीले विभिन्न व्यापारिक प्रतिष्ठान तथा निर्माणस्थलहरूको अवलोकन गरी श्रमिक दर्ता कार्ड जाँच गर्नुका साथै प्रचलित श्रम कानुनको पालना भए-नभएको समीक्षा गर्यो। विशेषगरी बालश्रमिकको संलग्नता तथा परिचालन र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको दर्तासम्बन्धी प्रावधानमा ध्यान दिइएको थियो।
चाडपर्वका सामग्री बिक्री गर्ने पसलहरूमा पटेकाको बिक्री तथा भण्डारणबारे पनि जाँच गरियो। सिक्किम राज्यमा पटाका प्रतिबन्धित रहेको स्मरण गराउँदै व्यापारीहरूलाई यस्ता सामग्री बिक्री तथा भण्डारण नगर्न सचेत गराइएको थियो।
यसैगरी, बजार क्षेत्रको स्वच्छता तथा सरसफाईको अवस्थाबारे निरीक्षण गर्दै पसलभित्र तथा वरपर सफाई कायम राख्न, फोहोरको उचित व्यवस्थापन गर्न र सार्वजनिक क्षेत्रलाई फोहोरमुक्त राख्न व्यापारीहरूलाई सुझाउ दिइयो।
एसडीएफ राईले पसलका व्यापारिक सामग्रीहरू निर्धारित पसल परिसरभित्रै राख्न तथा पैदलयात्रीको सहज आवागमन र सुरक्षाका लागि सडकपेटी एवं पैदलमार्ग खाली राख्न पनि व्यापारीहरूलाई निर्देशन दिए।
उनले प्रशासनद्वारा जारी निर्देशनहरूको अनिवार्य पालना गर्न आग्रह गर्दै श्रम कानुन तथा अन्य वैधानिक प्रावधानको कार्यान्वयन अवस्थाबारे अनुगमन गर्न पुनः निरीक्षण गरिने जानकारी दिए।चाडपर्वको समयमा सार्वजनिक सुरक्षा सुनिश्चित गर्ने, श्रम कानुनको पालना गराउने, बजार क्षेत्रको स्वच्छता कायम राख्ने तथा व्यवस्थित आवागमन सुनिश्चित गर्ने जिल्ला प्रशासनको निरन्तर प्रयासअन्तर्गत उक्त संयुक्त निरीक्षण गरिएको हो।
---------------
हिन्दुस्थान समाचार / बिशाल