सीएपीद्वारा सांगठनिक गतिविधिको समीक्षा, पाँचौँ स्थापना दिवस र पञ्चायत चुनाउबारे छलफल
सीएपीद्वारा सांगठनिक गतिविधिको समीक्षा, पाँचौँ स्थापना दिवस र पञ्चायत चुनाउबारे छलफल


गान्तोक, 06 नोभेम्बर (हि.स.)।सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महत्त्वपूर्ण सांगठनिक समन्वय बैठक आज दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत मेल्लीडांड़ामा पार्टी अध्यक्ष गणेश के. राईको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा पार्टीका उपाध्यक्षहरू, महासचिवहरू तथा प्रवक्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा २०२६ को अक्टोबर महिनाभरि सञ्चालन गरिएका सांगठनिक गतिविधिहरूको विस्तृत समीक्षा गर्दै आगामी महिनाहरूका लागि रणनीतिक कार्ययोजनाबारे छलफल गरियो। पार्टीको सांगठनिक संरचना सुदृढ बनाउने, विभिन्न परिषद्हरूबीच समन्वय बढाउने तथा सुधारमुखी राजनीतिक एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइयो।

बैठकमा आगामी २७ जनवरी, २०२७ मा मनाइने पार्टीको पाँचौँ स्थापना दिवसको तयारीबारे पनि विस्तृत छलफल भयो। यसैगरी, २०२७ मा हुने पञ्चायत चुनाउलाई केन्द्रमा राखेर पार्टीको जमीनी उपस्थिति बलियो बनाउने, सांगठनिक पहुँच विस्तार गर्ने तथा व्यवस्थित निर्वाचन रणनीति तयार पार्ने विषयमा छलफल गरियो।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश के. राईले कुनै पनि राजनीतिक संगठनको वास्तविक शक्ति नेतृत्व तथा सदस्यहरूको सामूहिक प्रतिबद्धता, अनुशासन र जिम्मेवारीबोधमा निहित रहने बताए। प्रत्येक पदाधिकारीले इमानदारी र समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै सांगठनिक गतिविधिलाई सार्थक जनसम्पर्क र प्रत्यक्ष उपलब्धिमा रूपान्तरण गर्नुपर्ने उनले उल्लेख गरे।उनले वैचारिक स्पष्टता कायम राख्ने, आन्तरिक समन्वय सुदृढ गर्ने तथा परिणाममुखी कार्यशैली अपनाउने आवश्यकतामाथि पनि जोड दिए। साथै, पारदर्शिता, जवाफदेहिता र सुधारका सिद्धान्तमा आधारित सशक्त, अनुशासित तथा जनकेन्द्रित राजनीतिक संगठन निर्माणका लागि सबै पदाधिकारीलाई सामूहिक रूपमा अघि बढ्न आह्वान गरे।तिहारको पावन अवसरमा अध्यक्ष राईले सिक्किमवासी, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै पर्वले प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि र सद्भाव ल्याओस् भन्ने कामना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande