
- छुट्टै कामतापुर राज्यको पुनर्गठन सहित अन्य धेरै वटा मागहरू उठ्नेछन्
कोकराझार (असम), 06 नोभेम्बर (हि.स.)। छुट्टै कामतापुर राज्यको पुनर्गठन, कोच-राजबंशी समुदायलाई अनुसूचित जनजाति (एसटी)- को दर्जा प्रदान गर्ने अनि कोच-राजबंशी भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गर्ने लगायतका विभिन्न मागहरूको समर्थनमा आगामी 15 नोभेम्बरका दिन कोकराझारमा कामतापुर स्टेट डिमाण्ड काउन्सिल (केएसडीसी)- द्वारा एक जनसभा आयोजना गरिने भएको छ। यस जनसभामा एक लाखभन्दा बढ़ी मानिसहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
यस सन्दर्भमा कोकराझार शहरको डिमलगाउँस्थित चिलराय भवनमा आज केएसडीसी र कोच-राजबंशी समुदाका विभिन्न राष्ट्रिय सङ्गठनहरूका प्रतिनिधिहरूको एउटा महत्त्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा छुट्टै कामतापुर राज्यको पुनर्गठन, कोच-राजबंशी समुदायलाई आदिवासीको दर्जा दिने, कोच-राजबंशी भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गर्ने, के. एल. ओ. प्रमुख जीवन सिंहसँग सम्बन्धित शान्ति सम्झौताको प्रक्रियालाई द्रुत बनाउने तथा उनको शीघ्र रिहाई लगायतका विभिन्न विषयमा विस्तृत छलफल गरियो।
बैठकमा उपस्थित कोच-राजबंशी राष्ट्रिय सङ्गठनका नेताहरूले आगामी 15 नोभेम्बरमा कोक्राझारमा प्रस्तावित विशाल जनसभालाई समर्थन गर्दै समुदायका मानिसहरूलाई ठूलो सङ्ख्यामा सहभागी हुने अपील गरे। यी मागहरूमाथि सरकारले चाँड़ै ठोस अनि प्रभावकारी कदम नचालेमा आगामी दिनमा अझ व्यापक तथा कड़ा आन्दोलन शुरु गरिने नेताहरूले स्पष्ट पारे।
आगामी शीतकालीन विधानसभा सत्रमा कोच-राजबंशी भाषालाई संवैधानिक मान्यता दिने माग पनि बैठकमा प्रमुख रूपमा उठाइयो। यसको साथै के. एल. ओ. प्रमुख जीवन सिंहलाई विगत चार वर्षदेखि अज्ञात स्थानमा राखिएको आरोपमाथि गहिरो दुःख व्यक्त गरियो। नेताहरूले यस स्थितिको कड़ा निन्दा गर्दै उनलाई तत्काल रिहा गर्ने माग गरे।
बैठकमा केएसडीसीका सचिव लक्ष्मीन्द्र राई, केएलओका सेनाध्यक्ष धनञ्जय बर्मन, अखिल कोच-राजबंशी सम्मेलनका कार्यकारी अध्यक्ष रघुरञ्जन बेपारी, अक्रासूका केन्द्रिय सचिव सोनाधर राय, अविभाजित गोवालपाड़ा जिल्ला अक्रासूका अध्यक्ष जुगल राय एवं टीटीसी कोच-राजबंशी सम्मेलनका कार्यकारी अध्यक्ष अपूर्व बर्मन सहित विभिन्न सङ्गठनका वरिष्ठ नेताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा