
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। दिवालीअघि दिल्ली-एनसीआरमा प्रदूषणको स्तर लगातार बढ्दै गइरहेको छ। राजधानीको हावा मानिसहरूका लागि श्वास फेर्न समेत कठिन हुने गरी प्रदूषित बनेको छ। धेरै क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ४०० माथि पुगेको छ। अवस्थालाई ध्यानमा राख्दै वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले दिल्ली–एनसीआरमा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (ग्र्याप) को तेस्रो चरण अर्थात् ग्र्याप-३ का प्रतिबन्ध तत्काल प्रभावबाट लागू गरेको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) को तथ्याङ्क अनुसार, ६ नोभेम्बरमा दिल्लीको औसत एक्यूआई ३८२ रेकर्ड गरिएको थियो। त्यस्तै, ७ नोभेम्बर बिहान राजधानीका धेरै क्षेत्रमा प्रदूषणको स्तर गम्भीर श्रेणीमा पुग्यो। आईआईटी दिल्लीमा सबैभन्दा बढ़ी एक्यूआई ४४२ रेकर्ड गरियो। यस बाहेक पञ्जाबी बागमा ४३३, मुन्डकामा ४२१, रोहिणीमा ४१८, आरके पुरममा ४१७, सोनिया विहारमा ४१४ र नजफगढ़मा ४१३ रेकर्ड गरियो।
नोएडाको सेक्टर-६२ मा पनि एक्यूआई ४१५ रेकर्ड गरियो। त्यस्तै, सेक्टर-११६ मा २८७, सेक्टर-१२५ मा २८१ र सेक्टर-१५० मा २३० रह्यो। यसबाट दिल्लीसँगै एनसीआरका धेरै क्षेत्रमा पनि प्रदूषणको अवस्था चिन्ताजनक रहेको स्पष्ट हुन्छ।
प्रदूषण नियन्त्रण गर्न ग्र्याप-३ अन्तर्गत अनावश्यक निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ। यस बाहेक माटो खन्ने, पाइलिङ गर्ने, खुला स्थानमा रेडी मिक्स कङ्क्रिट प्लान्ट सञ्चालन गर्ने तथा खानी सम्बन्धी गतिविधिमा पनि रोक लगाइएको छ।
दिल्ली र एनसीआरका सम्बन्धित क्षेत्रमा सीएस-३ पेट्रोल तथा सीएस-४ डिजेल चार चक्के सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। आवश्यक सेवा बाहेक डिजेल जेनेरेटरको प्रयोगमा पनि रोक लगाइएको छ। त्यस्तै, निजी कम्पनीहरूलाई घरबाटै काम गर्ने (वर्क फ्रम होम) तथा हाइब्रिड कार्यप्रणाली अपनाउन सुझाव दिइएको छ।
मौसम विभाग र आईआईटीको पूर्वानुमान अनुसार, आगामी दिनमा दिल्ली-एनसीआरको हावा अझ् खराब हुन सक्नेछ। प्रदूषणको स्तर गम्भीर श्रेणीमा पुग्ने आशङ्का गरिएको छ। यस्तो अवस्थामा प्रशासनले मानिसहरूलाई सतर्कता अपनाउन तथा प्रदूषणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी