
गाजियाबाद, ०७ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको गाजियाबाद जिल्लास्थित वसुन्धरा पुलिस चौकीमा शुक्रबार राति भएको विस्फोटको जिम्मेवारी तहरीक उल मुजाहिदीन हिन्दुस्तान नामक संगठनले लिएको छ। उत्तर प्रदेशको एटीएस तथा अन्य अनुसन्धान निकायहरूले घटनाको अनुसन्धान तीव्र पारेका छन्।
गाजियाबादका पुलिस आयुक्त जे. रविन्दर गौड तथा उत्तर प्रदेश एटीएसको टोलीसहित वरिष्ठ अधिकारीहरूले शनिबार पुलिस चौकीको निरीक्षण गरे। यो दुर्घटना हो वा षड्यन्त्र भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।
यसैबीच, एउटा संगठनले सामाजिक सञ्जालमार्फत वसुन्धरा पुलिस चौकीभित्र भएको विस्फोटको जिम्मेवारी लिएको छ। तर पुलिसले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरेको छैन। उत्तर प्रदेश एटीएस र आईबीका टोलीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। साथै, सामाजिक सञ्जालमा गरिएको पोस्टको पनि जाँच भइरहेको छ।
पुलिस आयुक्तले पत्रकारहरूलाई बताएअनुसार, शुक्रबार राति इन्दिरापुरम पुलिस थाना क्षेत्रअन्तर्गत पर्ने वसुन्धरा पुलिस चौकीको पछाडिको पर्खाल नजिक विस्फोट भएको सूचना प्राप्त भएको थियो। त्यसबेला त्यहाँ उपस्थित एक पुलिस उपनिरीक्षक र एक डेलिभरी कर्मचारी घाइते भएका थिए। त्यसपछि अनुसन्धान शुरु गरिएको थियो।
बम निष्क्रिय पार्ने टोली, फिल्ड युनिट तथा फरेन्सिक टोलीले अझै पनि घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन्। अनुसन्धानका क्रममा अहिलेसम्म विस्फोटको कारण पत्ता लाग्न सकेको छैन। रिपोर्ट आएपछि मात्र विस्फोट कसरी भयो भन्ने कुरा स्पष्ट हुनेछ। सामान पुर्याउन आएका एक डेलिभरी कर्मचारीलाई सामान्य चोट लागेको छ।
वसुन्धरा पुलिस चौकीमा भएको विस्फोटको अनुसन्धानका लागि शनिबार बम निरोधक टोलीले नमुना सङ्कलन गरेको छ। विस्फोटक पदार्थका कारण विस्फोट भएको हुन सक्ने आशङ्का गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी