
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेस नेतृ सोनिया गान्धीमाथि कडा प्रहार गरेको छ। भाजपाको राष्ट्रिय मुख्यालयका प्रभारी एवं सांसद तरुण चुगले कांग्रेसलाई श्रीराम मन्दिरको निर्माण पचिरहेको छैन भनी बताए। भारत ऋषिमुनि र तपस्वीहरूको भूमि रहेको उल्लेख गर्दै उनले भारतीय संस्कृतिको अपमान नगर्न आग्रह गरे। भारतमा विरासत र विकास दुवै सँगसँगै अगाडि बढिरहेको उनले बताए। श्रीराम जन्मभूमिमा भव्य मन्दिरको निर्माण, वाराणसीमा श्री काशी विश्वनाथ करिडोर तथा श्री स्वर्ण मन्दिर वरपर निर्माण गरिएको करिडोर यसका प्रमाण भएको उनले बताए।
सांसद चुगले शनिबार सञ्चारमाध्यमसँग कुराकानी गर्दै श्रीराम मन्दिरको निर्माण रोक्न कांग्रेस लागिपरेको आरोप लगाए। उनका नेताहरूले अदालतमा शपथपत्रसमेत पेस गरेको उनले बताए।
उनले प्रश्न गर्दै भने, “आपतकाल लागू गरेर संवैधानिक तथा नागरिक अधिकारको हनन कसले गरेको थियो? १९८४ मा गान्धी-नेहरू परिवारको आदेशमा नरसंहार भइरहेको बेला तपाईं कहाँ हुनुहुन्थ्यो? देशले यी प्रश्नहरूको जवाफ चाहन्छ।”
उल्लेखनीय छ, कांग्रेस नेतृ सोनिया गान्धीले एउटा अखबारमा लेख लेख्दै पछिल्लो १२ वर्षमा देशको लोकतान्त्रिक संरचना, संवैधानिक संस्था तथा सामाजिक तानाबानालाई ठूलो क्षति पुर्याइएको बताएकी थिइन्।
अब मानिसहरूले यस क्षतिको अनुभूति गर्न थालेका छन् र वर्तमान परिस्थितिलाई लिएर उनीहरू चिन्तित रहेको उनले उल्लेख गरेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी