
नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। क्यान्सरको उपचार गराइरहेका बिरामीहरूका लागि राहतको खबर छ। केन्द्र सरकारले क्यान्सरको उपचारमा प्रयोग हुने १ हजारभन्दा बढी ब्रान्डका औषधिहरूको मूल्य घटाएको छ। नयाँ मूल्य ९ नोभेम्बर, २०२६ देखि लागू हुनेछ।
राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरणका अनुसार, हालसम्म ७६ वटा औषधि कम्पनीले १ हजार २२५ वटा औषधिको नयाँ मूल्यबारे जानकारी दिएका छन्। तीमध्ये १ हजार ३१ वटा औषधिको मूल्य घटाइएको छ। करिब ६०० ब्रान्डका औषधिको मूल्यमा ५० प्रतिशतभन्दा बढी कटौती गरिएको छ। केही औषधिको मूल्य त ९६.४५ प्रतिशतसम्म घटाइएको छ।
सरकारको अनुमानअनुसार, औषधिको मूल्य घट्दा बिरामीहरूले प्रत्येक वर्ष करिब ३ हजार ५०२ करोड रुपियाँ बचत गर्नेछन्।
नयाँ मूल्यअनुसार, ब्रिक्सटा इन्जेक्सनको मूल्य २५ हजार ९९५ रुपियाँबाट घटाएर ३ हजार ३१८ रुपियाँ कायम गरिएको छ। अबिरोन औषधि अब ४१ हजार २५० रुपियाँको सट्टा ३ हजार २१८ रुपियाँमा उपलब्ध हुनेछ। यसैगरी पेग-रेलिग्रास्टको मूल्य ५ हजार ३३१ रुपैयाँबाट घटाएर १ हजार २५८ रुपियाँ र अजाडिनको मूल्य ५ हजार ९६४.७० रुपियाँबाट घटाएर १ हजार १९९.५० रुपियाँ कायम गरिएको छ।
यी औषधिहरू स्तन क्यान्सर, फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, रक्त क्यान्सर तथा अन्य प्रकारका क्यान्सरको उपचारमा प्रयोग गरिन्छन्।
अस्पताल र औषधि दोकानले नयाँ मूल्य देखाउनुपर्ने
सरकारले सबै औषधि विक्रेता, अस्पताल तथा चिकित्सा संस्थाहरूलाई नयाँ मूल्यको सूची आफ्ना पसल र वेबसाइटमा प्रदर्शन गर्न निर्देशन दिएको छ। राज्यका औषधि नियन्त्रकहरूले औषधिहरू तोकिएको मूल्यमा बिक्री भइरहेका छन् वा छैनन् भन्ने विषयमा जाँच गर्नेछन्।
कुनै औषधि दोकान वा अस्पतालले नयाँ मूल्यभन्दा बढीमा औषधि बिक्री गरेमा बिरामीहरूले एनपीपीएको हेल्पलाइन १८००-११-१२५५ मा उजुरी गर्न सक्नेछन्। यसका साथै monitoring-nppa@gov.in मा इमेलसमेत पठाउन सक्नेछन्।
औषधिहरूको नयाँ मूल्यसम्बन्धी जानकारी एनपीपीएको वेबसाइट www.nppa.gov.in र ‘फार्मा सही दाम’ मोबाइल एपमा पनि हेर्न सकिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी