
नयाँ दिल्ली, ०९ नोभेम्बर (हि.स.)। दीपावलीका अवसरमा पटेका तथा अन्य कारणले जलेका ४२ जना बिरामी अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि पुगेका छन्। तीमध्ये ११ जना गम्भीर रूपमा जलेका छन् भने ३१ जनालाई सामान्य चोट लागेको छ।
एम्सको प्लास्टिक, रिकन्स्ट्रक्टिव र बर्न्स सर्जरी विभागले सोमबार जारी गरेको आधिकारिक जानकारीअनुसार, यो विवरण सोमबार बिहान ११ बजीसम्मको हो। गम्भीर रूपमा जलेका ११ जनामध्ये चार जना सघन उपचार कक्ष (आईसीयू) र सात जना सामान्य वार्डमा भर्ना छन्। हालसम्म पाँच जना बिरामीको शल्यक्रिया गरिएको छ।
कुल घटनामध्ये ३७ वटा पटेकाबाट जलेका र दुई वटा पोटासका कारण भएका घटना हुन्। पोटासबाट जलेका दुई जनामध्ये १३ वर्षीय बालक पनि छन्। हाल आठ जना अस्पतालमा भर्ना रहेका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
जलेर घाइते हुनेमा १० वर्षभन्दा कम उमेरका छ जना बालबालिका छन्। तीमध्ये सबैभन्दा कम उमेरका बालक पाँच वर्षका छन्। आठ वर्षीय एक बालकको शरीरको ४५ प्रतिशत भाग जलेकाले उनको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, १० देखि १८ वर्ष उमेर समूहका १२ जना र १८ देखि ६० वर्ष उमेर समूहका २२ जना घाइते भएका छन्। ६० वर्षभन्दा माथिका एक जना बिरामी पनि रहेका छन्।
एम्सका अनुसार, आँखामा चोट लागेका केही बिरामी सीधै आरपी सेन्टरको नेत्र आपतकालीन विभागमा उपचारका लागि पुगेका हुन सक्छन्। त्यस्ता बिरामीको सङ्ख्या भने यस विवरणमा समावेश गरिएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी