
- सरसंघचालकले १९३० को दशकको ऐतिहासिक घटनाको उल्लेख गरे
नागपुर, ०९ नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का सरसंघचालक डा. मोहन भागवतले सोमबार सङ्घको प्रारम्भिक इतिहाससँग सम्बन्धित एउटा महत्वपूर्ण तथा कम चर्चित घटनाको उल्लेख गरेका छन्। उनले स्वतन्त्रतापूर्व १९३० को दशकमा मध्य प्रान्तको विधानसभामा राष्ट्रिय स्वयंसेवक सङ्घमाथि प्रतिबन्ध लगाउने प्रस्ताव प्रस्तुत हुँदा इब्राहिम नामका एक मुस्लिम व्यक्तिले सङ्घको समर्थनमा आवाज उठाएको बताएका छन्।
डा. भागवत नागपुर नागरिक सहकारी ब्याङ्क लिमिटेडको मुख्यालयमा नवनिर्मित सभागारको उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका थिए। यस अवसरमा उनले सङ्घ स्थापनाको प्रारम्भिक समयको स्मरण गर्दै विधानसभामा सङ्घको पक्षमा बोल्न त्यतिबेला एक जना पनि स्वयंसेवक उपस्थित नरहेको बताए। सङ्घको विचारधारालाई समर्थन गर्ने व्यक्ति पनि त्यहाँ नरहेको अवस्थामा इब्राहिम नामका व्यक्तिले सङ्घको पक्षमा आफ्नो धारणा राखेका थिए। उनले सङ्घ साम्प्रदायिक नभएकाले यसमाथि प्रतिबन्ध लगाउनु नहुने स्पष्ट पारेका थिए।
इब्राहिमले विधानसभामा दिएको भाषणको उल्लेख गर्दै डा. भागवतले उनको भनाइ उद्धृत गरे, “हिन्दुस्तान हिन्दू राष्ट्र हो भन्नेहरूलाई पागलखानामा पठाउनुपर्छ भन्ने मलाई लाग्छ। तर म डा. केशव बलिराम हेडगेवारलाई व्यक्तिगत रूपमा चिन्छु। उहाँ पागल नभई असल व्यक्ति हुनुहुन्छ। त्यसैले राष्ट्रिय स्वयंसेवक सङ्घ साम्प्रदायिक हुन सक्दैन।”
डा. भागवतले त्यसबेला राष्ट्रिय स्वयंसेवक सङ्घको व्यापक पहिचान नरहे पनि डा. हेडगेवारको समाजमा राम्रो सम्मान रहेको बताए। सङ्घ स्थापनादेखि नै स्वयंसेवकहरूले आफ्नो काममार्फत सङ्गठनको वास्तविक पहिचान निर्माण गरेको उल्लेख गर्दै उनले सय वर्षपछि पनि स्वयंसेवक नै सङ्घको वास्तविक शक्ति र पहिचान रहेको बताए।
प्रचारकहरूको समर्पित जीवन नै सङ्घको शक्ति
सङ्घका पूर्णकालीन कार्यकर्ता अर्थात् प्रचारकहरूको जीवनशैलीबारे विचार व्यक्त गर्दै डा. भागवतले उनीहरूको निःस्वार्थ सेवाभावको प्रशंसा गरे। प्रत्येक व्यक्तिमा फरक-फरक क्षमता, सीप र मानवीय गुण हुने भए पनि प्रचारकहरूलाई एउटै सूत्रमा बाँध्ने प्रमुख विशेषता सङ्घको कार्यप्रति उनीहरूको पूर्ण समर्पण रहेको उनले बताए।
उनले भने, “म स्वयं एक प्रचारक हुँ र मैले वर्षौंदेखि प्रचारकहरूलाई नजिकबाट नियालेको छु। उनीहरूको जीवनशैली अहिले मेरो स्वभावको एउटा हिस्सा बनिसकेको छ।”
प्रचारकहरूबारे लेखिने लेख तथा विचारमा कुनै व्यक्तिगत स्वार्थ नभई उनीहरूप्रतिको प्रेम, सम्मान र आत्मीयता अभिव्यक्त हुने उनले बताए। सङ्घको कार्यबाट कुनै भौतिक लाभ प्राप्त नहुने भए पनि प्रचारकहरूले आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पित गर्ने गरेको उनको भनाइ थियो।
७५ लाख स्वयंसेवकमध्ये करिब चार हजार पूर्णकालीन प्रचारक
स्वयंसेवकहरूको जीवनमा त्याग र समर्पणको महत्वबारे प्रकाश पार्दै डा. भागवतले सच्चा स्वयंसेवक अहङ्कार, व्यक्तिगत अपेक्षा र स्वार्थबाट टाढा रहेर समाजको कल्याणका लागि काम गर्ने बताए।
उनका अनुसार, हाल देशभर करिब ७० देखि ७५ लाख स्वयंसेवक रहेका छन्। तीमध्ये करिब चार हजार पूर्णकालीन प्रचारकले आफ्ना व्यक्तिगत इच्छा तथा आकाङ्क्षालाई पछाडि राखेर देशको भविष्य निर्माणका लागि आफूलाई पूर्ण रूपमा समर्पित गरेका छन्।”
स्वयंसेवकको जीवन मूलधारको विपरीत दिशामा पौडिनुजस्तै रहेको उल्लेख गर्दै उनले अहङ्कार, स्वार्थ र व्यक्तिगत अपेक्षालाई त्यागेर समाजका लागि सकारात्मक योगदान पुर्याउनु नै स्वयंसेवकको वास्तविक पहिचान भएको बताए।
भारतप्रति विश्वको ठूलो अपेक्षा
स्वयंसेवकहरूको जीवनमा त्यागको महत्व स्पष्ट पार्दै डा. भागवतले परम्परागत धार्मिक संस्कारहरूको पनि उल्लेख गरे। सामान्यतया विवाहपछि उपनयन अथवा मुञ्जजस्ता धार्मिक संस्कार गरिने भए पनि स्वयंसेवकको जीवनमा त्याग र समर्पणलाई सर्वोच्च प्राथमिकता दिइने उनले बताए।
विश्वव्यापी रूपमा तीव्र गतिमा परिवर्तन भइरहेका घटनाक्रमबीच सम्पूर्ण विश्वले भारतलाई ठूलो अपेक्षाका साथ हेरिरहेको उनले उल्लेख गरे। ती अपेक्षा पूरा गर्न समाज बलियो, अनुशासित र एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ थियो।
राष्ट्रिय स्वयंसेवक सङ्घको सय वर्षको यात्राको चर्चा गर्दै डा. भागवतले सङ्घको प्रगति कुनै बाह्य सहयोग वा कृपाका कारण नभई स्वयंसेवकहरूको समर्पण, निःस्वार्थ सेवा र चरित्रबलका आधारमा सम्भव भएको बताए।
उनले सङ्घको वास्तविक पहिचान भवन, पदाधिकारी वा बाह्य प्रसिद्धिमा नभई निःस्वार्थ भावनाका साथ कार्य गर्ने स्वयंसेवकहरूमा निहित रहेको सन्देश दिए।
हिन्दुस्थान समाचार / बिशाल