
चित्रकूट (उत्तर प्रदेश), ०९ नोभेम्बर (हि.स.)। दीपावलीका अवसरमा भगवान कामतानाथको दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार ट्र्याक्टर-ट्रली सोमबार दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृतकमा दुई बालबालिका पनि रहेका छन्।
प्राप्त जानकारीअनुसार, रैपुरा थाना क्षेत्रको रामनगरनजिक नहर छेउमा ट्र्याक्टर-ट्रली अनियन्त्रित भएर सडकबाट तल पल्टिएको थियो। ट्रलीमा सवार तीर्थयात्रीहरू त्यसको मुनि च्यापिएका थिए।
तीर्थयात्रीहरू दर्शन-पूजा गरेर ट्र्याक्टर-ट्रलीमा प्रयागराज फर्किरहेका थिए। दुर्घटनामा मध्यप्रदेशको रीवा तथा प्रयागराज जिल्लाका बासिन्दा प्रभावित भएका छन्। मृत्यु हुनेमा मध्यप्रदेशको रीवाका शिवांश (७), त्रिवेणी (४०), नन्हे (६) तथा प्रयागराजको ऊँचा गाउँ निवासी राधेकृष्ण रहेका छन्।
घटनापछि पुलिस तथा स्थानीय बासिन्दाले तत्काल उद्धार कार्य शुरु गरी घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याएका थिए। घटनास्थलमा जिल्लाधिकारी पुलकित गर्ग र पुलिस अधीक्षक अरुणकुमार सिंह पनि पुगेका थिए।
यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तथा राहत कार्य तीव्र बनाउन र पीडित परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी