महाराष्ट्रमा भीषण आगलागी, एउटै परिवारका ६ जनाको जलेर मृत्यु
धाराशिव जिले के येडशी गांव में अग्निकांड के बाद आग बुझाते स्थानिय लोग


धाराशिव, ०९ नोभेम्बर (हि.स.)। महाराष्ट्रको धाराशिव जिल्लामा भएको भीषण आगलागीमा एउटै परिवारका छ जना सदस्यको जलेर मृत्यु भएको छ। यस दर्दनाक घटनामा परिवारका एक बालक भने जसोतसो आफ्नो ज्यान बचाउन सफल भएका छन्। उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। दीपावलीको चाडका बीच भएको यस हृदयविदारक घटनाले सम्पूर्ण क्षेत्रमा शोक छाएको छ।

येडशी गाउँका निवासी गोविन्द करन्डेले आफ्नो घरमा लक्ष्मीपूजाको अवसरमा घर तथा घरसँगै जोडिएको किराना पसलको बाहिर आकर्षक सजावट गरेका थिए। दिनभर चाडपर्वको तयारी र पूजापाठ गरेपछि परिवारका सबै सदस्य राति सुत्न गएका थिए।

आगो तीव्र गतिमा फैलिएकाले घरभित्र सुतिरहेका मानिसहरूले सम्हालिने र बाहिर निस्कने अवसरसमेत पाएनन्। यस भीषण घटनामा गोविन्द करन्डे, उनकी पत्नी, दुई छोरी तथा उनका वृद्ध आमाबुबासहित परिवारका छ जना सदस्यको मृत्यु भयो। परिवारका एक बालक भने जसोतसो घरबाट बाहिर निस्कन सफल भएकाले उनको ज्यान जोगिएको छ। हाल उनको उपचार भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै छिमेकी तथा आसपासका स्थानीय बासिन्दाले उद्धार तथा राहत कार्य सुरु गर्ने प्रयास गरेका थिए। तर, आगोको लप्का अत्यन्तै तीव्र भएकाले कसैले पनि घरभित्र प्रवेश गर्न सकेनन्।

घटनाको सूचना पाएपछि स्थानीय विधायक राणा जगजीतसिंह पाटिल बिहान करिब ४ः२० बजी घटनास्थल पुगेका थिए। ग्रामीण क्षेत्रमा तत्काल अग्निशमन सेवा उपलब्ध नभएका कारण आगो निभाउने प्रयासमा बाधा पुगेको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कलम्ब र तुलजापुरबाट अग्निशमन टोलीलाई तत्काल घटनास्थलमा बोलाइयो। त्यसपछि मात्रै आगो नियन्त्रणमा लिन सकियो।

दियोबाट आगलागी भएको आशंका

प्रारम्भिक जानकारीअनुसार, घरमा बालिएको दियोबाट आगलागी भएको आशंका गरिएको छ। यद्यपि, आगलागीको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन। पुलिस तथा प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगिसकेका छन्। घटनाबारे विस्तृत जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande