

- कटनीमा दुई महिनाको शिशुसहित एउटै परिवारका छ जनाको मृत्यु, सिवनीको छपारामा पनि छ जनाले गुमाए ज्यान
कटनी/सिवनी, ०९ नोभेम्बर (हि.स.)। मध्यप्रदेशमा दीपावलीको राति दुई परिवारका लागि जीवनकै सबैभन्दा दुःखद घटना बनेको छ। कटनी जिल्लाको बरही र सिवनी जिल्लाको छपारामा घरमा लागेको भीषण आगलागीमा परी १२ जनाको मृत्यु भएको छ। मृतकमा चार महिला, तीन पुरुष र पाँच बालबालिका रहेका छन्। कटनीमा एउटै परिवारका छ जना सदस्यको मृत्यु भएको छ, जसमा दुई महिनाको शिशुसमेत छन्। त्यस्तै, सिवनीको छपारामा पनि एउटै परिवारका छ जनाले आगलागीमा परी ज्यान गुमाएका छन्। दुवै घटनामा घरभित्र रहेका कुल २० जनामध्ये आठ जनालाई सुरक्षित बाहिर निकालिएको छ। घटनापछि दुवै क्षेत्रमा शोक छाएको छ।
कटनी: तीनतले घरमा परिवार फस्यो, दुई महिनाको शिशुसहित छ जनाको मृत्यु
कटनी जिल्लाको बरहीमा दीपावलीको रात करिब १२ बजी पूरन अग्रवालको क्रोकरी पसलमा अचानक आगलागी भयो। पसलसँगै जोडिएको तीनतले भवनमा केही समयमै आगो फैलियो। आगो र धुवाँका कारण घरभित्र रहेका परिवारका सदस्य बाहिर निस्कन सकेनन्।
यस घटनामा ७७ वर्षीय पूरन अग्रवाल, उनकी पत्नी चन्द्रकला (७४), बुहारी पूनम, १४ वर्षीया आर्या, छ वर्षीया अन्वी र दुई महिनाको शिशुको मृत्यु भयो। घटनाका क्रममा रितेश अग्रवाल र उनकी भाउजू भने जसोतसो घरबाट बाहिर निस्कन सफल भए। उनीहरूले आगोको लप्का देखेपछि चिच्याएर सहयोग मागेका थिए। तर, त्यतिबेलासम्म आगो भवनको ठूलो हिस्सामा फैलिसकेको थियो र परिवारका अन्य सदस्य भित्रै फसिसकेका थिए।
बिहानसम्म उद्धार अभियान, जेसीबीले भत्काइयो घरको पर्खाल
आगलागीपछि रातभरि राहत तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। बिहान करिब ४ः३० बजी पूरन अग्रवाललाई घरबाट बाहिर निकालियो। त्यसपछि बिहान करिब ६ः३० बजी जेसीबीको सहयोगमा घरको पर्खाल भत्काएर परिवारका अन्य पाँच सदस्यलाई बाहिर निकालियो। उनीहरूमा दुई महिनाको शिशुसमेत थिए। तर, त्यतिबेलासम्म सबैको मृत्यु भइसकेको थियो।
दमकलका गाडीमा खराबी हुँदा आगो निभाउन कठिनाइ
बरही आगलागीपछि दमकल व्यवस्थामाथि पनि प्रश्न उठेको छ। स्थानीय जानकारीअनुसार, नगर परिषद् बरहीको दमकल गाडी आगलागी भएको करिब एक घण्टापछि राति १ बजी घटनास्थल पुगेको थियो। तर, त्यसको पाइप फुटेको थियो। करिब डेढ घण्टापछि विजय राघवगढबाट अर्को दमकल गाडी आइपुग्यो। त्यसको पाइपमा पनि खराबी रहेको बताइएको छ।
त्यसपछि कैमोर र कटनीबाट थप दमकल गाडी बोलाइयो। दमकलका गाडीमा प्राविधिक खराबीका कारण आगो निभाउने प्रयासमा कठिनाइ भएको थियो। जेसीबीको सहयोगमा पर्खाल भत्काएर उद्धार अभियान सञ्चालन गरियो। यस क्रममा बरहीका स्थानीय युवाहरूले पनि उद्धार कार्यमा सहयोग गरेका थिए।
घटनापछि स्थानीय बासिन्दाले दमकल व्यवस्था र प्रशासनिक तयारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। घटनाका बावजुद बिहान करिब ४ बजीसम्म प्रशासनका वरिष्ठ अधिकारीहरू घटनास्थलमा उपस्थित नभएको उनीहरूको भनाइ थियो। दीपावलीजस्तो ठूलो पर्वका बेला अग्नि नियन्त्रणका लागि पर्याप्त तयारी हुनुपर्ने उनीहरूले बताएका छन्।
सिवनी: छपारामा सुनचाँदी व्यवसायीको घरमा आगलागी, छ जनाको मृत्यु
दोस्रो घटना सिवनी जिल्लाको छपारा थाना क्षेत्रअन्तर्गत महावीर वार्ड नम्बर-७ मा भएको हो। यहाँ जैन मन्दिरनजिकै रहेको सुनचाँदी व्यवसायी कुन्दन सोनीको घरमा सोमबार बिहान करिब ४ देखि ४ः३० बजीको बीचमा आगलागी भयो। घटनाका बेला घरमा परिवारका कुल १० जना सदस्य थिए। आगो तीव्र गतिमा फैलिँदा छ जना घरभित्रै फसे भने चार जनालाई सुरक्षित बाहिर निकालियो।
यस घटनामा कुन्दनलाल सोनी (७५), राजकुमारी सोनी (६५), ऋतु सोनी (४२), स्मृति सोनी (४०), सूर्या सोनी (४५) र आदित्य सोनी (१६) को मृत्यु भएको छ। अमायरा सोनी (७), रितेश सोनी (४५), सौरभ सोनी (४३) र आकर्ष सोनी (१४) लाई भने सुरक्षित उद्धार गरिएको छ।
आगलागीको कारण स्पष्ट छैन, पुलिस जाँचमा जुट्यो
घटनाको सूचना पाएपछि दमकल र पुलिस टोली घटनास्थल पुगेका थिए। तर, दमकल पुग्दासम्म आगो घरभरि फैलिसकेको थियो। उद्धार टोलीले आगो नियन्त्रणमा लिने प्रयास गर्दै घरभित्र फसेका मानिसहरूलाई बाहिर निकालेको थियो। मृतक सबैको शव परीक्षणका लागि पठाइएको छ।
हालसम्म आगलागीको वास्तविक कारण खुल्न सकेको छैन। विद्युत् सर्ट सर्किट वा अन्य सम्भावित कारणबारे अनुसन्धान भइरहेको छ। घटनाबारे थप विवरण र प्रशासनिक पुष्टि हुन बाँकी छ। सम्पूर्ण घटनाको अनुसन्धान छपारा पुलिसले गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी