राष्ट्रपति र प्रधानमन्त्रीले उत्तराखण्ड स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे
प्रतीकात्मक


नयाँ दिल्ली, ०९ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा रक्षामन्त्री राजनाथ सिंहलगायत विभिन्न नेताहरूले सोमबार उत्तराखण्डको स्थापना दिवसका अवसरमा राज्यवासीलाई हार्दिक शुभकामना दिएका छन्।

राष्ट्रपति मुर्मूले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “उत्तराखण्ड आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र अनुपम प्राकृतिक सुन्दरताका लागि विशिष्ट पहिचान राख्दछ। यहाँका जनताले राष्ट्रसेवा, वीरता तथा पर्यावरण संरक्षणमा सधैँ महत्त्वपूर्ण योगदान दिएका छन्। मलाई आशा छ, उत्तराखण्डवासीले पर्यावरण संरक्षण र दिगो विकासबीच सन्तुलन कायम राख्दै राज्यलाई निरन्तर प्रगतिको मार्गमा अघि बढाइरहनेछन्।”

प्रधानमन्त्री मोदीले उत्तराखण्डलाई आध्यात्मिक चेतना र अद्भुत प्राकृतिक सौन्दर्यले सम्पन्न दिव्य भूमि बताएका छन्। उनले भनेका छन्, “आकर्षक हिमाली दृश्य, पवित्र नदीहरू र पावन चारधामका साथै यस राज्यको आफ्नै विशिष्ट पहिचान छ, जुन यसको गौरवशाली सांस्कृतिक सम्पदासँग जोडिएको छ। राज्यका मेहनती, प्रतिभाशाली र प्रगतिशील जनताको सक्रिय सहभागिताका कारण उत्तराखण्ड आज विकासका हरेक क्षेत्रमा नयाँ उचाइ हासिल गरिरहेको छ। प्रकृति र संस्कृतिका लागि परिचित यो भूमि प्रगतिको मार्गमा निरन्तर तीव्र गतिमा अघि बढिरहनेछ भन्ने पूर्ण विश्वास छ। यो विशेष अवसरले राज्यका सबै जनताको जीवनमा खुसी, शान्ति र समृद्धि ल्याओस्।”

लोकसभा अध्यक्ष ओम बिरलाले उत्तराखण्ड प्राकृतिक सुन्दरता, समृद्ध आध्यात्मिक सम्पदा र गौरवशाली सांस्कृतिक परम्पराले सुशोभित प्रदेश भएको बताएका छन्। उनले भनेका छन्, “हिमालयका अग्ला शिखरदेखि पवित्र नदीहरूका उद्गमस्थलसम्म तथा गङ्गोत्री-यमुनोत्री, बद्रीनाथ-केदारनाथ र हेमकुण्ड साहिबजस्ता पवित्र तीर्थस्थलसम्म फैलिएको उत्तराखण्ड हाम्रो सभ्यता, आस्था र प्राकृतिक सम्पदाको अमूल्य हिस्सा हो। उत्तराखण्डले प्रगतिका नयाँ मानक स्थापित गरिरहोस्, यहाँका प्रत्येक परिवारमा सुख-समृद्धि छाओस् र विकसित भारतको सङ्कल्प साकार पार्न यस राज्यले अग्रणी भूमिका निर्वाह गरोस्।”

रक्षामन्त्री राजनाथ सिंहले देवभूमि उत्तराखण्ड आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, अद्भुत प्राकृतिक सुन्दरता र वीरताको गौरवशाली परम्पराका लागि परिचित रहेको बताएका छन्। उनले भनेका छन्, “यहाँका मेहनती, कर्मठ र साहसी जनताले आफ्नो लगन, समर्पण तथा प्रतिभामार्फत देशको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। उत्तराखण्डले विकास र समृद्धिका नयाँ मानक स्थापित गर्दै देशको प्रगतिमा निरन्तर योगदान दिइरहोस् भन्ने कामना गर्दछु।”

केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले उत्तराखण्ड आफ्नो अनुपम प्राकृतिक सुन्दरता, समृद्ध आध्यात्मिक सम्पदा र जीवन्त लोकसंस्कृतिका कारण देशको सांस्कृतिक केन्द्रसमेत रहेको बताएका छन्। उनले भनेका छन्, “राष्ट्रसेवा र मातृभूमिप्रतिको समर्पण भावदेखि साहित्य, कला तथा संस्कृतिसम्म देवभूमिका जनताले विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका छन्। बाबा केदारसँग यो राज्य सुशासन र समृद्धिको मार्गमा निरन्तर अघि बढिरहोस् भन्ने कामना गर्दछु।”

केन्द्रिय सामाजिक न्याय तथा अधिकारितामन्त्री डा. वीरेन्द्र कुमारले आध्यात्मिकता, तीर्थाटन, प्रकृति संरक्षण र पर्यावरणीय चेतनाको सन्देश फैलाउने उत्तराखण्ड निरन्तर विकास र समृद्धितर्फ अघि बढोस् तथा प्रत्येक दुर्गम गाउँ र उपत्यकाका जनताको उत्थान होस् भन्ने कामना गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande