
मुजफ्फरनगर, ०९ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा सोमबार बिहान पानीपत-खटीमा राजमार्गमा डिभाइडरमा ठोक्किएर कार पल्टिँदा आगलागी भएको छ। दुर्घटनामा कारमा सवार छ जनाको जिउँदै जलेर मृत्यु भएको छ।
दुर्घटना बिहान करिब ५ बजी तितावी थाना क्षेत्रनजिक भएको हो। कारमा सवार परिवार हरियाणाको हिसारबाट हरिद्वारतर्फ जाँदै थियो। यसै क्रममा तीव्र गतिमा रहेको कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। ठक्करपछि कार पल्टिएर तत्काल आगलागी भयो। कारमा सवार व्यक्तिहरूलाई बाहिर निस्कने अवसरसमेत मिलेन।
कारमा आगो लागेको देखेपछि सडकमा हिँडिरहेका व्यक्तिहरूले पुलिसलाई खबर गरेका थिए। घटनास्थल पुगेको पुलिसले आगो नियन्त्रणमा लिने प्रयास गर्दै शवहरू बाहिर निकालेको थियो। हालसम्म मृतकहरूको पहिचान हुन सकेको छैन। कारको दर्ता नम्बरका आधारमा उनीहरू हरियाणाको हिसार निवासी परिवारका सदस्य रहेकोबारे पुलिसले जानकारी सङ्कलन गरिरहेको छ।
फुगाना क्षेत्रका पुलिस उपरीक्षक नरेन्द्र यादवले हिसारमा बसोबास गर्ने परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएका छन्।
यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार कार्य तीव्र बनाउन तथा पीडित परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी