
देहरादून, ०९ नोभेम्बर (हि.स.)।
प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री पुष्करसिंह धामीलाई पत्र पठाउँदै राज्यवासीलाई शुभकामना दिएका छन्। उनले उत्तराखण्डको विकास यात्रा, आध्यात्मिक तथा सांस्कृतिक सम्पदा, पूर्वाधार विस्तार र सीमावर्ती क्षेत्रहरूमा भइरहेको विकास कार्यको प्रशंसा गरेका छन्।
मुख्यमन्त्री धामीले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको पत्र सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्री मोदीले ९ नोभेम्बर, २००० मा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीको प्रयासबाट उत्तराखण्ड छुट्टै राज्यका रूपमा स्थापना भएको स्मरण गर्दै राज्य गठनको उद्देश्य पूरा गर्ने दिशामा प्रदेश निरन्तर अघि बढिरहेको बताएका छन्। उनले हिमालयको काखमा अवस्थित उत्तराखण्डलाई प्राकृतिक सौन्दर्य र आध्यात्मिक वैभवको सङ्गमका रूपमा वर्णन गरेका छन्।
केदारनाथ, बद्रीनाथ, गङ्गोत्री, यमुनोत्री, हेमकुण्ड साहिब, जागेश्वर धाम र आदि कैलाशलगायत धार्मिक स्थलहरूको उल्लेख गर्दै उनले उत्तराखण्ड विश्वकै आध्यात्मिक राजधानी बन्ने क्षमता राख्ने बताएका छन्।
प्रधानमन्त्रीले पछिल्लो एक दशकमा सडक, रेल तथा हवाई सम्पर्कको क्षेत्रमा भएको विस्तारलाई महत्त्वपूर्ण उपलब्धि बताएका छन्। करिब ८९० किलोमिटर लामो चारधाम सर्वमौसम सडक परियोजनामा ११ हजार करोड रुपियाँभन्दा बढी खर्च भइरहेको तथा १२५ किलोमिटर लामो ऋषिकेश-कर्णप्रयाग रेल परियोजनाको काम अघि बढिरहेको उल्लेख गरेका छन्। दिल्ली-देहरादून द्रुतमार्ग, देहरादून विमानस्थल विस्तार तथा पिथौरागढ विमानस्थल सञ्चालनलाई पनि उनले महत्त्वपूर्ण उपलब्धि बताएका छन्।
यसका साथै केदारनाथ पुनर्निर्माण, बद्रीनाथ धाममा करिब ५०० करोड रुपैयाँको विकास कार्य तथा भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत माणा, जादुङ, तिम्मरसैंण, नीति र गुञ्जीलगायत सीमावर्ती गाउँमा भइरहेको विकासको प्रशंसा गरेका छन्।
पर्यटन, होमस्टे, शीतकालीन पर्यटन, साहसिक पर्यटन तथा विवाह पर्यटनलाई प्रवर्द्धन गर्ने राज्य सरकारको प्रयासको पनि उनले सराहना गरेका छन्। आगामी हरिद्वार कुम्भ मेलाको तयारीका लागि केन्द्र सरकारले ५०० करोड रुपिअयाँ सहयोग उपलब्ध गराउने उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले जल जीवन अभियानअन्तर्गत ९८ प्रतिशतभन्दा बढी ग्रामीण परिवारमा धारा जडान, मेडिकल कलेज तथा स्वास्थ्य सुविधाको विस्तार र शिक्षा क्षेत्रमा भइरहेको प्रगतिलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उज्ज्वला, स्वच्छ भारत, प्रधानमन्त्री आवास तथा लखपति दीदी योजनाले ग्रामीण महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका छन्।
सुशासनका क्षेत्रमा उत्तराखण्डमा समान नागरिक संहिता लागू गरिएको, नक्कलविरोधी कानुन, धर्मान्तरण कानुन तथा भू-कानुनमा पारदर्शिता ल्याउन गरिएका प्रयासको पनि उनले प्रशंसा गरेका छन्। राष्ट्रिय खेलकुदको सफल आयोजना तथा राज्यका खेलाडीहरूले राष्ट्रिय स्तरमा १०० भन्दा बढी पदक जितेको उपलब्धिको समेत उल्लेख गरेका छन्।
उत्तराखण्डको लोकसंस्कृति, परम्परागत चाडपर्व, लोकनृत्य तथा खानपानलाई राज्यको विशिष्ट पहिचान बताउँदै उनले नन्दा देवी मेला, उत्तरायणी मेला, इगास-बग्वाल, छोलिया नृत्य, फूलदेई तथा मण्डुवेको रोटी, झङ्गोरेको खीर र बाल मिठाईलगायत परम्पराको चर्चा गरेका छन्।
प्रधानमन्त्री मोदीले केन्द्र र राज्य सरकारको संयुक्त प्रयासबाट उत्तराखण्डले विकासका नयाँ कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गर्दै ‘एक्काइसौँ शताब्दीको तेस्रो दशक उत्तराखण्डको दशक हुनेछ’ भन्ने सङ्कल्प साकार भइरहेको बताएका छन्।
यसैबीच मुख्यमन्त्री पुष्करसिंह धामीले प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उत्तराखण्डको आध्यात्मिक चेतना, हिमाली सम्पदा, लोकसंस्कृति, सीमावर्ती क्षेत्र, महिला सशक्तीकरण, युवा आकाङ्क्षा तथा किसानको योगदानप्रति प्रधानमन्त्रीको गहिरो आत्मीयता पत्रमा झल्किएको बताएका छन्। प्रधानमन्त्रीको नेतृत्व र मार्गदर्शनमा राज्य सडक, रेल, हवाई सम्पर्क, धार्मिक पर्यटन, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा सुशासनका क्षेत्रमा निरन्तर अघि बढिरहेको उनले बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी