
कोलकाता, ०९ नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको रायगञ्जमा १२ वर्षीया बालिकाको अपहरण, बलात्कार तथा निर्मम हत्या गरेको आरोपमा फरार रहेका मुख्य आरोपी दिलीप राय सोमबार बिहान पुलिस एन्काउन्टरमा मारिएका छन्। पछिल्ला चार दिनदेखि पुलिसले उनको खोजी गरिरहेको थियो।
प्राप्त जानकारीअनुसार, गत ३ नोभेम्बरको साँझ रायगञ्ज निवासी ती बालिका साइकल लिएर घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी रहस्यमय रूपमा बेपत्ता भएकी थिइन्। परिवारको उजुरीपछि पुलिसले खोजी अभियान सञ्चालन गरेको थियो। दुई दिनपछि शुक्रबार नजिकैको कुलिक जङ्गलमा बालिकाको नग्न तथा क्षतविक्षत शव फेला परेको थियो। परिवारले अपहरणपछि बलात्कार गरी हत्या गरिएको आरोप लगाएको थियो। घटनामा अन्य व्यक्ति संलग्न भए-नभएको तथा सामूहिक बलात्कार भएको आशङ्काबारे पनि पुलिसले जाँच गरिरहेको थियो।
पुलिसका अनुसार, आइतबार राति मुख्य आरोपी रायगञ्जको गौरी ग्राम पञ्चायत क्षेत्रमा लुकेर बसेको र बिहारको सीमावर्ती बाटो हुँदै अर्को राज्यतर्फ भाग्ने तयारीमा रहेको गोप्य सूचना प्राप्त भएको थियो। त्यसपछि सोमबार बिहान करिब ३ बजी विशेष पुलिस टोलीले उक्त क्षेत्रमा छापा मारेको थियो।
पुलिस स्रोतका अनुसार, पुलिस टोलीलाई देख्नेबित्तिकै दिलीप रायले गोली चलाएका थिए। उनको गोली लागेर पुलिसको गाडीको एउटा टायरसमेत क्षतिग्रस्त भएको थियो। त्यसपछि पुलिसले आत्मरक्षामा जवाफी गोली चलाउँदा उनी घटनास्थलमै मारिएको बताइएको छ। उनको शव पोस्टमार्टमका लागि रायगञ्ज मेडिकल कलेज तथा अस्पतालमा राखिएको छ।
उल्लेखनीय छ, पश्चिम बङ्गालमा भारतीय जनता पार्टीको नयाँ सरकार गठन भएपछि यो चौथो पुलिस एन्काउन्टर भएको बताइएको छ। यसअघि बारुईपुरमा प्रभास मण्डल, गायघाटामा प्रह्लाद दास तथा मुर्शिदाबादको शमशेरगञ्जमा सामाउल हक पुलिस एन्काउन्टरमा मारिएका थिए। ती तीनै घटनामा पक्राउ परेका आरोपीहरू पुलिस हिरासतबाट भाग्ने प्रयास गर्दा मारिएको बताइएको थियो।
घटनाबारे प्रतिक्रिया दिँदै राज्यका मन्त्री दिलीप घोषले कानुन हातमा लिने वा उल्लङ्घन गर्ने व्यक्तिले पुलिसको सामना गर्नुपर्ने बताएका छन्। कानुनको दायराभित्र रहेर काम गर्न सबैलाई उनले आग्रह गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी