
वाशिङ्गटन, २५ फरवरी (हि.स.)। अमेरिकामा मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति स्टेट अफ द युनियनलाई सम्बोधन गरे। सम्बोधनका क्रममा उनले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै भावी नीति तथा योजनाहरू सार्वजनिक गरे। उनले भने, “यो देशको स्वर्णकाल हो। यसअघि कहिल्यै यति राम्रो अवस्था थिएन।”
राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५० वर्ष पूरा हुन लागेको उल्लेख गर्दै विश्वमा अमेरिका जस्तो अर्को देश नभएको दाबी गरे। उनले सीमाहरू सुरक्षित बनाइएको, अवैध घुसपैठ नियन्त्रण गरिएको बताए। यस क्रममा डेमोक्रेट सांसदहरूले उनको भाषणको विरोधमा सदनबाट वाकआउट गरे भने रिपब्लिकन सांसदहरूले नारा लगाएका थिए।
सीबीएसका अनुसार, ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक स्टेट अफ द युनियन सम्बोधन अमेरिकी क्यापिटलको हाउस च्याम्बरमा दिए। उनले अमेरिकामा अपराध दर घटेको, एक वर्षमै देशमा ठूलो परिवर्तन आएको दाबी गरे। उनले भने, “यसअघि कसैले यस्तो परिवर्तन गर्न सकेको थिएन।”
उनले मुद्रास्फीति नियन्त्रणमा आएको, आम्दानी बढेसँगै अर्थतन्त्र मजबुत बन्दै गएको दाबी गरे। ट्रम्पले पछिल्ला नौ महिनामा एक पनि अवैध घुसपैठको घटना नभएको बताए।
राष्ट्रपतिले खतरनाक फेन्टानिल लागुऔषधको आयातमा ५६ प्रतिशत कमी आएको उल्लेख गरे। देशमा हत्या दर ऐतिहासिक रूपमा घटेको र १२५ वर्षकै न्यूनतम स्तरमा पुगेको दाबी पनि गरे। उनले भने, “बाइडेन प्रशासनले हामीलाई कमजोर अर्थतन्त्र सुम्पिएको थियो, तर हामीले मुद्रास्फीति घटाएका छौं, जुन पछिल्ला पाँच वर्षकै सबैभन्दा कम हो।”
उनले ग्यासोलिनको मूल्यमा उल्लेखनीय गिरावट आएको र केही राज्यहरूमा प्रतिग्यालन २.३० डलरभन्दा कम रहेको बताए। साथै, मोर्गेज दर पनि निकै कम रहेको उनले बताए।
भाषणको शुरुवातमा ट्रम्पले भने, “आज राति केवल एक वर्षपछि म पूर्ण सम्मान र गर्वका साथ भन्न सक्छु कि हामीले यस्तो परिवर्तन गरेका छौं जुन पहिले कसैले देखेको थिएन, र यो परिवर्तन शताब्दीयौंसम्म रहनेछ। हामी कहिल्यै पनि केही समयअघिको अवस्थामा फर्किने छैनौं।”
---------------
हिन्दुस्थान समाचार / बिशाल