
तेहरान, ०२ मार्च (हि.स.)। इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले सर्वोच्च नेता अली खामेनेईको मृत्युपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै कडा चेताउनी दिएका छन्। उनले यसलाई “मुसलमानहरूविरुद्धको युद्धको घोषणा” भन्दै जिम्मेवार व्यक्तिहरूसँग बदला लिनु इरानको “वैध कर्तव्य र अधिकार” रहेको बताएका छन्।
राष्ट्रका नाममा आफ्नो पहिलो सन्देशमा पेजेश्कियानले इरानी सशस्त्र बलले शत्रुका ठेगानाहरूमा “शक्तिशाली आक्रमण” जारी राख्ने बताएका छन्। उनले खामेनेईलाई “शहीद” घोषणा गर्दै देश उनकै पदचिन्हमा अघि बढ्ने बताए।
नयाँ नेतृत्व परिषदको घोषणा
राष्ट्रपतिले “नयाँ नेतृत्व परिषद” ले कामकाज सम्हालेको पुष्टि गरेका छन्, जसले संक्रमणकालमा शासन व्यवस्थाको निगरानी गर्नेछ। उनले जनतालाई मस्जिद र सडकहरूमा एकजुट भई शत्रुका “षड्यन्त्रहरू” विफल बनाउन आह्वान गरे।
यसबीच इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरू र इराकी कुर्दिस्तानका केही क्षेत्रमा नयाँ आक्रमणको घोषणा गरेको छ। इरानको सुप्रीम नेशनल सेक्युरिटी काउन्सिलका प्रमुख अली लारिजानीले सशस्त्र बलले आक्रमणका जिम्मेवार पक्षहरूलाई “अविस्मरणीय पाठ” सिकाउने बताएका छन्।
उल्लेखनीय छ, पेज़ेश्कियान २०२४ मा सुधारवादी उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। उनले सेप्टेम्बर २०२४ मा संयुक्त राष्ट्र महासभामा आफ्नो पहिलो सम्बोधनका क्रममा “राष्ट्रिय एकता” र “विश्वसँग रचनात्मक संवाद” मा जोड दिएका थिए। त्यतिबेला उनले इरान परमाणु हतियार चाहँदैन र पश्चिमी मुलुकहरूसँग तनाव कम गर्न तयार रहेको बताएका थिए।
तर, आफ्नो पहिलो राष्ट्र सम्बोधनमा नवनिर्वाचित इरानी राष्ट्रपतिको धारणा पूर्ण रूपमा रक्षात्मक र प्रतिशोधात्मक देखिएको छ। क्षेत्रीय सैन्य तनाव बढ्दै गएको र सर्वोच्च नेताको मृत्युको समाचारबीच इरानले स्पष्ट संकेत दिएको छ कि ऊ जवाफी कारबाहीबाट पछि हट्ने छैन।
---------------
हिन्दुस्थान समाचार / बिशाल