
इस्लामाबाद, ०१ मार्च (हि.स.)। इरानमाथि इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणबारे पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) मा यसले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने र यसको प्रभाव दीर्घकालसम्म रहने चेताउनी दिएको छ।
सुरक्षा परिषद्मा पाकिस्तानका स्थायी प्रतिनिधि राजदूत असीम इफ्तिखार अहमदले १५ सदस्यीय परिषद्लाई मध्यपूर्वका पछिल्ला घटनाक्रमप्रति आफूहरू गहिरो चिन्तित रहेको बताएका छन्। साथै, पाकिस्तानले साउदी अरब, बहराइन, जोर्डन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) माथि इरानले गरेको आक्रमणको निन्दा गर्दै ती देशहरूसँग एकजुटता व्यक्त गरेको जनाएको छ।
बहसको शुरुवात गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कुनै पनि देशको सार्वभौमिकताविरुद्ध बल प्रयोग नगर्न आह्वान गरेका छन्। उनले इरानविरुद्ध अमेरिका र इजरायलले गरेको व्यापक सैन्य आक्रमण तथा त्यसको प्रत्युत्तरस्वरूप इरानले बहराइन, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्समाथि गरेको आक्रमणको निन्दा गरेका छन्।
शनिबार साँझ फ्रान्स, चीन, रूस, बहराइन र कोलम्बियाको आग्रहमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी