
जलपाईगुड़ी, 10 मार्च (हि.स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत बिन्नागुड़ी ग्राम पञ्चायतको आमबाड़ी क्षेत्रमा नयाँ पक्की सड़क निर्माण गर्नको लागि मंगलवार राजगञ्जका विधायक खगेश्वर रायले शिलान्यास गरे। यो सड़क सिलगढ़ी-जलपाईगुड़ी डेभलपमेन्ट अथोरिटीको आर्थिक सहयोगमा निर्माण हुनेछ।
जानकारी अनुसार बिन्नागुड़ी ग्राम पञ्चायतको पोस्ट अफिस मोड़देखि आमबाड़ी चिन्तामोहन उच्च विद्यालय हुँदै परिमल चौधरीको घरसम्म सड़क बनाइनेछ। यस अतिरिक्त हेमो कुमार प्राथमिक विद्यालयदेखि भोरेर आलो थानासम्म लगभग एक किलोमीटर लामो सड़कको निर्माण गरिनेछ। यस सड़कको निर्माणमा लगभग 58 लाख रुपियाँ खर्च हुने बताइएको छ।
यस अवसरमा बिन्नागुड़ी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद, अञ्चल अध्यक्ष विजय दास, दिपेन प्रमाणिक, तुषार दत्त सहित केही स्थानीय नेता तथा क्षेत्रवासीहरू उपस्थित थिए। लामो समयदेखिकै यस क्षेत्रको सड़कको अवस्था जीर्ण भएको थियो। नयाँ पक्की सड़क बनिएपछि स्थानीय मानिसहरूलाई आवागमन गर्न धेरै सुविधा हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा