
गान्तोक, 15 मार्च (हि.स.)। सोसियल फरेस्ट्री डिभिजन गान्तोकले आज बाँसबाट टोकरी तथा बिरुवा जोगाउन प्रयोग हुने ट्री गार्ड बनाउने परम्परागत कलामा केन्द्रित एउटा विशेष जनचेतना तथा तालिम कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो पहल राज्यको महत्वाकाङ्क्षी ‘मेरो बाटो मेरो बोट’ परियोजनालाई सहयोग पुर्याउने उद्देश्यले गरिएको बताइएको छ।
यसले सडक किनारमा दिगो वृक्षारोपण गर्दै हरियाली क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको छ। यस एकदिने कार्यशालामा कृषक, नर्सरीका कामदार, फिल्ड स्टाफ तथा स्थानीय सर्वसाधारण लगायत विभिन्न क्षेत्रका सहभागीहरूलाई व्यवहारिक तथा प्रत्यक्ष अभ्याससहित तालिम प्रदान गरिएको थियो। पाकिम जिल्लाको संयुक्त वन व्यवस्थापन समितिका विशेषज्ञ स्रोत व्यक्तिहरूले सत्र सञ्चालन गर्दै साना बिरुवालाई सुरक्षित राख्न टिकाउ तथा वातावरणमैत्री बाँसका संरचना बनाउने तरिकाहरू प्रदर्शन गरेका थिए।
कार्यक्रममा कर्मा लेग्शे डी. आईएफएस, सीसीएफ-एसएफ, रजनी भण्डारी, आईएफएस, एडी एसएफ, अनुप जे. बानिया, एसएफएस, डीएफओ एसएफ तथा हेमन्ता शर्मा एसीएफ सहित आरओ, बीओ, एचएफजी र फिल्ड स्टाफहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल