
खरसाङ, 15 मार्च (हि.स.)। खरसाङमा स्वतन्त्रता सेनानी, गाँधीवादी कार्यकर्ता तथा समाज सुधारक सावित्री देवी उर्फ हेलेन लेप्चाको सालिग आइतवार अनावरण गरिएको छ। खरसाङको शेर्पा बस्तीस्थित सावित्री देवी पथ परिसरमा स्वतन्त्रता सेनानी हेलेन लेप्चाको सालिग भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट अनावरण गरियाे।
उक्त सालिग दार्जिलिङका सांसद राजु विष्टको सहयोगमा निर्माण गरिएको हाे भने यस सालिग मूर्तिकार कृपेन्द्र गुरुङले बनाएका हुन्। उक्त सालिग खरसाङ शेर्पा बुिद्धिष्ट एसोसिएशन र सालिग निर्माण समिति खरसाङको पहलमा स्थापना गरिएको हाे।
सालिग अनावरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सांसद राजु विष्टको सहयोगमा स्वतन्त्रता सेनानी सावित्रीको सालिग अनावरण गरिएको बताए। उनले गाँधीजीको खादी स्वदेशी आन्दोलनबाट प्रेरित साथै गाँधीजीबाट हेलेन लेप्चालाई सावित्री देवी नाम दिइएको पनि बताए। उनले सावित्री देवीले देश स्वतन्त्रको लागि, देश निर्माणको लागि र समाज निर्माणको लागि बहुमूल्य योगदान दिएको र समाजमा नारीहरुको लागि प्रेरणाको रूपमा रहेको पनि बताए।
---------------
हिन्दुस्थान समाचार / हनोक