बर्ड फ्लू महामारी तयारी सम्बन्धी चार दिवसीय आवासीय प्रशिक्षण सम्पन्न
बर्ड फ्लू महामारी तयारी सम्बन्धी चार दिवसीय आवासीय प्रशिक्षण सम्पन्न


गान्तोक, 11 मार्च (हि.स.)। पशुपालन तथा पशु चिकित्सा सेवा विभागको प्रशिक्षण तथा विस्तार प्रकोष्ठले सिक्किम राज्यमा बर्ड फ्लू फैलिने लहरमा महामारीको तयारी विषयमा चार दिवसीय आवासीय प्रशिक्षण आयोजन गऱ्यो। उक्त प्रशिक्षण कार्यक्रम नाबार्डको संयुक्त तत्वावधानमा गत 7 मार्चदेखि 10 मार्चसम्म सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रशिक्षण कार्यक्रमको उद्देश्य एभियन इन्फ्लुएन्जासँग सम्बन्धित सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै पशु चिकित्सा अधिकारीहरू र क्षेत्रीय कार्यकर्ताहरूबीच तयारी र प्रतिक्रिया संयन्त्रलाई सुदृढ पार्नु रहेको थियो। प्रशिक्षणमा पाकिम र गान्तोक जिल्लाका प्यारा पशु चिकित्सकहरू र क्षेत्रीय कार्यकर्ताहरू सहभागी बनेका थिए।

प्रशिक्षणमा मुख्यरूपमा फील्ड वरियर्सलाई विशेष रोगको बारेमा जागरुक गर्ने, निगरानीको महत्त्व, प्याराभेट र पशु चिकित्सकहरूको भूमिका, आरआरटीको गठनमा ध्यान दिइएको थियो। उनीहरूलाई पक्षीहरूको शवको उचित व्यवस्थापन र क्वारेन्टाइन सहित सरसफाईबारे बताइयो।

सहभागीहरूलाई रोगका लक्षणहरू, प्रारम्भिक पहिचान, जैविक सुरक्षा उपायहरू, कुखुराको सुरक्षित देखभाल र नमूना सङ्कलन, प्रयोगशालामा पठाउने तरिका र नमूनाहरूको उचित लेबलिङ बारे पनि सचेत गराइएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande