
कार्बी आङलोङ (असम), 12 मार्च (हि.स.)। कार्बी आङलोङ जिल्लाको डकमका क्षेत्रमा गए राति आएको भयानक तूफानले ठूलो समस्या उत्पन्न गरिदियो। तीव्र हावाले सड़क किनारमा लगाइएका ठूल्ठूला होर्डिंगहरू राष्ट्रिय राजमार्ग-29 मा झरेको कारणले यातायात घण्टौंसम्म प्रभावित भयो। अचानक आइलागेको यस प्राकृतिक आपदाको कारणले कोकोहोलो मचियो साथै यातायात पनि अवरूद्ध भयो।
तूफानले गर्दा स्थिति यहाँसम्म पुग्यो कि ठूलो संख्यामा वाहनहरू डिफु तर्फै फर्किरहेका थिए जहाँ मुख्यमन्त्री डा, हिमन्त बिस्व सरमाले एकदिनअघि मात्र एक जनसभालाई सम्बोधन गरेका थिए। एनएच-29 भएर फर्किरहेका धेरैजना मानिसहरू यस जाममा फसे जसले गर्दा वाहनहरूको लामो ताँंत लाग्यो।
घटना बारे जानकारी पाउनसाथ स्थानीय पुलिस एवं अधिकारीहरू तत्कालै घटनास्थलमा पुगे। पुलिस टीमले यातायात व्यवस्थालाई सम्हाल्दै बाटोमा झरेका होर्डिङहरूलाई हटाउने काम गऱ्यो।
डकमका क्षेत्रको एनएच-29 मा केही समयसम्म वाहनहरूको आवागमन पूर्ण रूपले ठप्प भएको थियो जसबाट यात्रीहरूलाई विविध समस्याको सामना गर्नुपऱ्यो। तथापि यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा