
उत्तर दिनाजपुर, 30 मार्च (हि.स.)। जिल्लाको चोपड़ा क्षेत्रमा गए आइतवार राति तृणमूल कंग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (बीजेपी)- बीच भएको संघर्षपछि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ।
काँचाकाली बजार क्षेत्रमा भएको यस घटनापछि समवार दार्जीलिङ लोकसभा क्षेत्रका बीजेपी सांसद राजू बिष्ट घटनास्थलमा पुगे। उनले पहिला कालागछ स्थित पार्टी कार्यालयमा पुगेर घाइते कार्यकर्ताहरूसित भेट गरी उनीहरूको मनोबल बढ़ाए। त्यसपछि चोपड़ा थानामा पुगेर पुलिस अधिकारीहरूसित लामो बैठक गरे।
सांसदको आरोप छ, बीजेपी कार्यकर्ताहरूले क्षेत्रमा पार्टीको झण्डा लगाइरहँदा 25-30 जना टीएमसी समर्थित मानिसहरूले आएर उनीहरूमाथि अचानक हमला गरे। उनले भने, चोपड़ाका मानिसहरू विकास चाहन्छन्, तर केही असामाजिक तत्वहरूले यसमा बाधा दिरहेका छन्। उनले आरोपीहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्ने माग गर्दै चेताउनी दिए, क्षेत्रलाई “गुण्डामुक्त” बनाउनुपर्छ।
घटनापछि सांसदले काँचाकाली क्षेत्रमा बीजेपी उम्मेद्वार शंकर अधिकारीसित चुनाउ प्रचार गरे अनि स्थानीय नेताहरूसित बैठक पनि गरे।
पुलिस अनुसार यस मामिलामा अहिलेसम्ममा दुईजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ भने जाँच जारी छ।
हाल यो क्षेत्र तनाउग्रस्त भएको छ। कुनै पनि अप्रिय घटनादेखि बच्नको लागि पुलिस अनि केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा