
खरसाङ, 30 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का उम्मेदवार अमर लामाले आगामी 1 अप्रेलका दिन नामाङ्कन पत्र बुझाउने छन्। उक्त दिन खरसाङ विधानसभा समष्टिभरिबाट भागोप्रमोका समर्थकहरुको व्यापक उपस्थित रहने बताइएको छ।
खरसाङमा आज आयोजित एक पत्रकार सम्मेलनमा भागोप्रमोको खरसाङ महकुमा समितिका सभापति सुमन बम्जन, सभासद प्रणाम रसाइली, सभासद नुरी शेर्पा र युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङले उक्त जानकारी दिए। सभासद रसाइलीले भागोप्रमोका उम्मेदवार अमर लामाले 1 अप्रेल को दिन आफ्नो नामाङ्कन पत्र भर्ने र उक्त दिन खरसाङ विधानसभा समष्टिभरिका विभिन्न स्थानहरुबाट समर्थकहरुको उपस्थिति रहने बताए।
उनले उक्त दिन समर्थकहरुले खरसाङ बजारको परिक्रमा गरेर खरसाङ महकुमा कार्यालय पुग्ने बताए। त्यस दिन समर्थकहरुको व्यापक उपस्थिति हुनेहुनाले गाडी पार्किङका लागि विभिन्न स्थानहरु चिन्हित गरिएको बताए। यस कार्यको लागि युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङलाई संयोजक बनाइएको जानकारी गराए। उनले आज बिहान ट्राफिक व्यवस्थापनको लागि खरसाङका ट्राफिक प्रभारीसित भेटघाट गरेको पनि बताए।
महकुमा समितिका सचिव प्रणाम रसाइलीले भने, सबै समर्थकहरु बिहान 9 बजीदेखि खरसाङ बजारमा भेला हुन शुरु गर्नेछन् र खरसाङ बजारको एक फन्को लगाएर महकुमा शासकको कार्यालयमा पुग्नेछन्। उनले बिहान 9 बजीदेखि 2:30 बजीसम्म जनसाधारणलाई हुनसक्ने असुविधाको लागि क्षमायाचना पनि गरे।
युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरुङले पनि ट्राफिक व्यवस्थापन साथै पार्किङ विषयमा जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक