
खरसाङ, 30 मार्च (हि.स.)। खरसाङ क्षेत्रमा एसआईआर प्रक्रिया अन्तर्गत मतदाता सुचीबाट नाम डिलिट भएका मानिसहरू सोमवार सडकमा निस्किए। मतदाता सूचीबाट नाम डिलिट भएपछि मानिसहरु अक्रोशित बन्दै खरसाङमा र्याली आयोजना गरे। उक्त र्याली खरसाङको रेलवे स्टेशनबाट शुरु भएर पंखाबारी रोड हुँदै महकुमा शासक कार्यालय जाने क्रममा प्रशासनले रोकेपछि नयाँ रोड भएर नयाँ बजारस्थित टाउन सार्वजनिक भवनसम्म पुग्यो।
मानिसहरुले कुनै पनि अवस्थामा भोट हाल्न पाउनु पर्छ भन्ने माग गर्दै खरसाङ महकुमा कार्यालयका डीएमडीसीलाई ज्ञापन बुझाएका छन्। ज्ञापनमा एसआईआर अन्तर्गत मतदाता सूचिबाट नाम काटिएकाहरु मानिसहरूले गुनासो पोखेका छन्। र्यालीमा मानिसहरुले विभिन्न प्लाकार्डहरु लिएर प्रदर्शन गरेका थिए।उनीहरूले मतदाता सूचीबाट नाम डिलिट हुनु कुनै षडयन्त्र हुनसक्ने आशंका व्यक्त गरेका छन्। जानकारी अनुसार, एसआईआर प्रक्रियामा कलाकारहरु, सरकारी मानिसहरु, निर्वाचितहरु, चियाबारी श्रमिकहरु लगायत अन्यहरूको नाम काटिएका छन्।
सभालाई सम्बोधन गर्दै जीटीएका प्रमुख कार्यपाल अनित थापाले भने, 'चुनाउ आउँछ-जान्छ, तर पहिला हामीले हाम्रो मतदाता बचाउनु पर्छ। हामीले लडाई लड्नु नै पर्छ। तपाईहरुलाई भोट हाल्नु सक्ने बनाउँछौ।'
हिन्दुस्थान समाचार / हनोक