चुनाउ 26ः असममा चुनाउ प्रचार वर्षाद्वारा प्रभावित, दलहरूको गतिमा ह्रास
चुनाउ 26ः असममा चुनाउ प्रचार वर्षाद्वारा प्रभावित, दलहरूको गतिमा ह्रास


गुवाहाटी, 30 मार्च (हि.स.)। असममा पछिल्लो केहीदिनदेखिको रोकिँदै परिरहेको पानीबाट विधानसभा चुनाउको प्रचार अभियान प्रभावित हुन थालेको छ। लगातार परिरहेको पानीले गर्दा विभिन्न राजनीतिक दलहरूको जनसभा, ऱ्याली तथा घर-घर सम्पर्क अभियानमा बाधा उत्पन्न भइरहेको छ। यस्तै मौसममा पनि केन्द्रिय गृह मन्त्री अमित शाह, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गे, केन्द्रिय मन्त्री शिवराज सिंह चौहान जस्ता दिग्गज नेताहरूले चुनावी ऱ्याली तथा सभाहरू गरेर गइसकेका छन्। पोलिंग अधिकारीहरूले प्रतिकूल मौसममा पनि पोस्टल ब्यालेट बोकेर घर-घर घुमी चुनाउ अभियान संचालन गरिरहेका छन्।

अर्कोतिर मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको चुनावी ऱ्यालीहरूमा खराब मौसम भएपनि दिनहुँ लाखौं मानिसहरूको भीड़ भेला भइरहेको छ। कंग्रेस अध्यक्ष गौरव गोगोईले पनि दिनहुँ चुनावी सभाहरू गरिरहेका छन्।

उल्लेखनीय छ, राज्यमा विधानसभा चुनाउ आगामी 9 अप्रेलमा भइरहेको छ जसलाई लिएर भारतीय जनता पार्टी (भाजपा), कंग्रेस, असम गण परिषद (अगप) समेत अन्य दलहरूले आ-आफ्नो स्तरमा व्यापक प्रचार अभियान शुरू गरेका छन्। तथापि प्रतिकूल मौसमको कारणले कतिपय ठाउँमा कार्यक्रमहरूलाई स्थगित गर्न परिरहेको छ भने कतिपय ठाउँमा थोरै मात्रामा मात्र मानिसहरू सभाहरूमा आइरहेका छन्।

राजनीतिक दलहरूका नेताहरूको भनाइ छ, पानीझरीमा पनि उनीहरूले डिजीटल माध्यम तथा स-सानो समूहहरूको माधयमबाट प्रचार अभियानलाई जारी राख्ने प्रयास गरिरहेका छन्। कार्यकर्ताहरूलाई पनि मौसमको परिस्थिति अनुसार रणनीतिमा परिवर्तन गर्ने निर्देश दिइएको छ।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, यदि वर्षाको सिलसिला जारी रहे यसको प्रभाव मतदान प्रतिशतमा पनि पर्नसक्छ। हाल सबै दलहरू मौसमको चुनौतीबीच आफ्नो चुनावी तयारीलाई अन्तिम रूप दिनमा जुटेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande