अखिल सिक्किम मंगर संघको नयाँ कार्यसमितिको पहिलो समन्वय सभा सम्पन्न
मंगरजोङ


गान्तोक, 04 मार्च (हि.स.)। अखिल सिक्किम मंगर संघको नयाँ कार्यसमितिको पहिलो समन्वय सभा मंगलबार मंगसारी, मंगरजोंगमा सम्पन्न भयो। उक्त सभा संघका सल्लाहकार टीएन थापाको अध्यक्षतामा सम्पन्न भयो।

सभामा अखिल सिक्किम मंगर संघका अध्यक्ष रेमन थापाले आगामी दिनहरूमा संघले गर्नुपर्ने कार्यहरूबारे विस्तृत जानकारी गराए। साथै, आगामी १5 मार्चका दिन अखिल सिक्किम मंगर संघले सिक्किमका ६ वटै जिल्लामा जिल्ला समिति गठन गर्ने निर्णय गरेको तथा सम्पूर्ण सिक्किमेली मंगर समुदायका घर घरमा पुगेर सदस्यता दर्ता गराउने जस्ता महत्वपूर्ण निर्णयहरू पारित गरिएको जानकारी गराए।

यसैगरी, राष्ट्रिय मंगर संघ, भारतका अध्यक्ष विष्णु रानाले रेमन थापाको नेतृत्वमा चयनित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले संघको नेतृत्व युवा तथा बौद्धिक हातमा पुगेकोमा खुशी व्यक्त गर्दै थॅातीमा रहेका सम्पूर्ण कामहरू सफलतापूर्वक सम्पन्न हुने र संघको थप विकास हुने विश्वास व्यक्त गरे। साथै, उनले केही महत्वपूर्ण सुझाउहरू पनि राखेका थिए।

सभाध्यक्ष टीएन थापाले मंगरजोंग जमिन अधिग्रहण तथा परियोजनाको शुरुवातसम्बन्धी आफूले निर्वाह गरेको दायित्वबारे सभालाई जानकारी गराउँदै नयाँ कार्यसमितिले गर्नुपर्ने जिम्मेवारीसम्बन्धी सुझाउहरू प्रस्तुत गरे।

उक्त सभाको सञ्चालन संघकी उपाध्यक्ष वर्षा मंगरले गरेकी थिइन् भने स्वागत मन्तव्य तुलालक्ष्मी मंगरले राखेकी थिइन्। त्यसैगरी, गंगीमाया मंगरले धन्यवाद ज्ञापन मन्तव्य राखेको विज्ञप्तिमा उल्लेख छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande