
गुवाहाटी, 04 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउको लागि असम प्रदेश कंग्रेस कमिटीद्वारा 42 जना उम्मेद्वारहरूको पहिलो सूची जारी गरिएपछि पार्टीमा परिवारवादलाई लिएर विवाद गहिरिँदै गइरहेको छ। आरोप छ, सूचीमा आठजना यस्ता उम्मेद्वारहरूलाई स्थान दिइएको छ जो स्थापित कंग्रेस नेताहरूका पुत्र वा पुत्री हुन्। यसबाट केही विधानसभा क्षेत्रहरूमा असन्तोष उत्पन्न भएको छ।
पार्टीभित्र अनि बाहिरका आलोचकहरूको भनाइ छ, कंग्रेस अहिले पनि वंशवादी परम्परादेखि पूर्ण रूपले मुक्त हुन सकेको छैन। उनीहरूको आरोप छ, राष्ट्रिय स्तरमा नेहरू-गान्धी परिवारले जसरी लामो समयसम्म नेतृत्व गरिरहे, त्यसरी नै असममा पनि राजनीतिक परिवारहरूलाई प्राथमिकता दिइँदैछ।
केही स्थानीय नेताहरूले खुलेर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ, वर्षौंदेखिको धरातलीय स्तरमा काम गरिरहेका सामान्य कार्यकर्ताहरूलाई बेवास्ता गरिँदैछ तथा टिकट वितरणमा प्रभावशाली राजनीतिक पृष्ठभूमि भएका मानिसहरूलाी प्राथमिकता दिइँदैछ। केही विधानसभा क्षेत्रहरूमा आन्तरिक असन्तोष व्याप्त भएको खबर आइरहेको छ।
यसबीच पार्टीमा राजीनामाको सिलसिला शुरू भएको छ। सिलचरका वरिष्ठ कंग्रेस नेता सञ्जीव रायले पार्टीबाट राजीनामा दिएका छन् जसले गर्दा चुनाउपूर्व संगठनात्मक स्थिति झन् बढ़ी चुनौतीपूर्ण भएको छ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, यदि पार्टी नेतृत्वले समयमै यस आन्तरिक असन्तोषलाई नसुल्झाए यसको प्रभाव आगामी चुनाउमा देख्न पाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा