
नाम्ची, 04 मार्च (हि.स.)। नाम्ची जिल्लाको तिमी-नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत नाम्फिङ ग्राम पञ्चायत एकाई (जीपीयू) आईएसओ 9001:2015 प्रमाणीकरण प्राप्त गर्ने सिक्किमकै पहिलो जीपीयू बनेको छ।
नाम्फिङ जीपीयूलाई आईएसओ 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणीकरण प्रदान गरिएको छ, जुन गुणस्तरीय शासन र पूर्ण रूपमा डिजिटल सार्वजनिक सेवा वितरणमा एक प्रमुख उपलब्धीको प्रतीक हो। यो प्रमाणीकरणले कुशल प्रशासन, नागरिक-केन्द्रित सेवाहरू र सिटिजन चार्टर अनुरूप प्रभावकारी गुनासो निवारणका लागि जीपीयूको प्रतिबद्धतालाई मान्यता दिन्छ।
यस क्रममा आज नाम्फिङ जीपीयूमा पञ्चायत प्रशासनिक पूर्वाधार र विकास कोशेढुङ्गाको उद्घाटन समारोह आयोजना गरियो। कार्यक्रममा क्षेत्र विधायक बीएस पन्त मुख्य अतिथि र लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा विशिष्ट अतिथिका रूपमा सहभागी बने। कार्यक्रमको शुरुवात क्षेत्र विधायक र सांसदको बाहुलीद्वारा पूर्ण रूपमा कागजविहीन ई-सेवा प्रशासनिक कक्ष, पञ्चायत सिकाई केन्द्र, ई-पुस्तकालय, मिनी ब्याङ्क र परम्परागत नेपाली घरको औपचारिक उद्घाटन गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक पन्तले यो उपलब्धि जीपीयूको लागि मात्र नभई सम्पूर्ण निर्वाचन क्षेत्र र राज्यको लागि ठूलो गौरवको कुरा बताए। उनले ग्रामीण स्तरोन्नति र तृणमूल स्तरमा पूर्वाधार सुदृढीकरणमा समर्पित प्रयासहरूका लागि लोकसभा सांसदप्रति कृतज्ञता व्यक्त गरे। उनले यो महत्वपूर्ण उपलब्धि हासिल गर्न पञ्चायत, अधिकारीहरू र अन्य सरोकारवालाहरूको सामूहिक प्रयासको पनि प्रशंसा गरे।
विधायकले कुशल सार्वजनिक सेवा वितरणमा सक्रिय रूपमा काम गरेकोमा जिल्ला प्रशासनको पनि प्रशंसा गरे। यस क्रममा उनले एनएचआईडीसीएलसँग सम्बन्धित क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न नाम्चीकी जिल्लापाललाई निर्देशन दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा जनताको उत्थानका लागि महत्वपूर्ण कार्यहरू भइरहेको बताए। उनले जनताको गुनासोलाई ध्यान दिइने तथा सेवाहरू समयमै र प्रभावकारी रूपमा जनतासम्म पुऱ्याउने आश्वासन दिए।
सांसद डा. सुब्बाले आफ्नो सम्बोधनमा जीपीयूलाई ऐतिहासिक उपलब्धी हासिल गरेकोमा बधाई दिए। उनले प्रत्येक जीपीयूको आफ्नै दायरा र क्षमताहरू छन्, जुन अन्य जीपीयूमा पनि दोहोऱ्याउन सकिने बताए। उनले सिक्किम सानो राज्य भएकाले सिक्किमले प्रभावकारी रूपमा पञ्चायती राज प्रणालीको लाभ उठाउन सक्छ भनी बताए।
उनले नीति निर्माणमा जनसांख्यिकीले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा स्पष्ट पार्दै सुशासन र सार्वजनिक सेवाहरू प्रदान गर्न स्थानीय प्रतिनिधिहरूको महत्त्वको वकालत गरे। उनले तृणमूल स्तरको शासनलाई प्रभावकारी, पारदर्शी र कुशल बनाउन प्रशासन र निर्वाचित प्रतिनिधिहरूबीच घनिष्ठ सहयोगमाथि जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल