
गुवाहाटी, 08 मार्च (हि.स.)। असममा आगामी विधानसभा चुनाउका तयारीहरूबीच भारतीय जनता पार्टी (भाजपा)- को जन आशीर्वाद यात्रालाई राज्यभरि नै व्यापक जनसमर्थन प्राप्त भइरहेको छ। यात्राको आइतवार सातौं दिन मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा माकुम, डिगबोई र मार्घेरिटा क्षेत्रभको भ्रमणमा प्रस्थान भएका छन्। यस यात्राको माध्यमबाट भाजपाले जनतासित फेरि एकपटक आफ्नो सरकारको लागि समर्थन तथा आशीर्वाद मागिरहेको छ।
निर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्रीले आज माकुमबाट जन आशीर्वाद यात्रा शुरु गरे। त्यसपछि उनी डिगबोई हुँदै मार्घेरिटा पुगे जहाँ यात्रा अन्तर्गत आयोजित कार्यक्रमको समापन हुनेछ। यी तीनै क्षेत्रमा आयोजित जनसभा तथा कार्यक्रमहरूमा मुख्यमन्त्रीले जनतालाई सम्बोधन गर्नेछन् भने सरकारको उपलब्धि र विकास कार्यको बारेमा जानकारी दिनेछन्।
मुख्यमन्त्रीसित यस भ्रमणमा असम भाजपाका प्रदेश अध्यक्ष एवं सांसद दिलीप सैकिया पनि उपस्थित छन्। दुवै नेताले विभिन्न सभाहरूमा पार्टी कार्यकर्ता तथा समर्थकहरूसित भेट गरेर आगामी चुनाउको रणनीतिमाथि चर्चा गर्नेछ।
उल्लेखनीय छ, भाजपाको यो जन आशीर्वाद यात्रा गत 28 फरवरीदेखि शुरू भएको हो। यात्राको उद्देश्य राज्यका विभिन्न जिल्लाहरूमा पुगेर मानिसहरूसित सम्वाद गर्नु, सरकारको योजना तथा उपलब्धिहरूलाई जनतासम्म पुऱ्याउनु अनि आगामी चुनाउको लागि जनसमर्थन जुटाउनु रहेको छ।
भाजपा नेताहरूको भनाइ छ, राज्यको विकास तथा स्थिर शासनलाई हेर्दा जनता एकपटक फेरि भाजपालाई नै समर्थन दिन तयार भएका छन्। अर्कोतिर यात्रा अवधि ठूलो संख्यामा मानिसहरूको सहभागितालाई पार्टीले आगामी चुनाउको लागि सकारात्मक संकेत मानिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा