
दिमा हसाओ (असम), 08 मार्च (हि.स.)। असमको दिमा हसाओ जिल्लास्थित हिमाली क्षेत्रमा भएको एक सड़क दुर्घटनामा तीनजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य चारजना मानिसहरू घाइते भए। यो दुर्घटना त्यसबेला भएको हो जतिबेला एक यात्रु भ्यान सड़कदेखि दुई सय फुट तल झऱ्यो।
पुलिस अनुसार यो दुर्घटना गए शनिवार अबेर राती लगभग 9:30 बजे हफलोंग पुलिस स्टेशन अन्तर्गत बोड़ो हफलोंग क्षेत्रको न्यू हफलोंग अप्रोच रोडमा भएको हो। भनिन्छ, भ्यान चालकले वाहनमाथि नियन्त्रण गुमाएको कारणले वाहन सड़क किनारदेखि चिप्लेर तल झऱ्यो। भ्यानमा सवार सबै मानिसहरू हफलोंगको साप्ताहिक बजारबाट फर्किरहेका थिए जसले सब्जी बेच्ने काम गर्दथे जो हफलोंगदेखि लुमडिंग तर्फ गइरहेका थिए।
यस दुर्घटनामा भ्यान पूर्ण रूपले क्षतिग्रस्त भएको छ। सूचना पाउनसाथ पुलिस तथा राहत दल घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई उद्धार गरी हफलोंग सिभिल अस्पतालमा पुऱ्यायो।
यस दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान ड्राइभर लंगटिंग हसिन निवासी मञ्जय गुरुङ, लंगटिंग कालीबाड़ीकी बिमला तथा लंगटिंग कालीबाड़ीकै लम्बु नार्जारीको रूपमा भएको छ। अस्पतालमा उपचाराधिन घाइतेहरूको पहिचान दाउतोहाजारका सुमित मण्डल (17), लंगटिंगका अनिमोय चकमा (40), माइबांगकी सुलमिता बाथरी (30) औ लंगटिंग कालीबाड़ीकी सुनिला बसुमतारी (60)- को रूपमा भएको छ।
अधिकारीहरू अनुसार घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्य सबैको उपचार भइरहेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा