
खरसाङ, 08 मार्च (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 1 अनि 16 मा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) काे बुथ कमिटी, अमृत 2.0 काे निरीक्षण कमिटीसॅंगै वार्ड नम्बर 16 मा समर्थन सभा सम्पन्न भयो। स्थानीय सुबिदार बस्तीमा सुदर्शन छेत्रीको अध्यक्षतामा आयोजित सभामा यसै वार्डबाट जम्मा 17 परिवार भागोप्रमो सामेल भए।
खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले सभा आयोजनकाे उद्देश्यबारे उपस्थित वार्डवासीलाई जानकारी गराए। सभालाई महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति अध्यक्ष सुभाष प्रधान, केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा चुनाव प्रभारी समीर दीप ब्लोनले सम्बोधन गरेका थिए।
सभामा अमृत 2.0 निरीक्षणका लागि 16 जना सदस्यहरूलाई लिएर कमिटी गठन गरियो। यसैगरी, विधानसभा चुनाउका लागि अध्यक्ष डिंकु गुरुङ र कोषाध्यक्ष महेश मंग्रातीसॅंगै 22 सदस्यहरूका साथ बुथ कमिटी गठन गरियो।
दोस्रो चरणमा वार्ड नम्बर एकको भिक्टोरिया ग्राम सुधार समिति भवनमा ब्रुगेन गुरूङको अध्यक्षतामा सभा सम्पन्न भयो। सभालाई भागोप्रमोका नेतृत्वहरू टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, नगरपालिका क्षेत्रका चुनाउ प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ, सभासद श्याम शेर्पा, टाउन कमिटी अध्यक्ष राजु शर्मा र केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाउ प्रभारी समिर दिप ब्लोनले सम्बोधन गरे।
सभाध्यले प्रथममा वार्ड नम्बर एकको प्रत्येक भेगबाट छनौट गरी 21 सदस्यीय अमृत 2.0 निरीक्षण कमिटी गठन गरे। यसका साथै आगामी विधानसभा चुनाउकाे निम्ति संयोजक विकास तामाङसँगै 35 जना सदस्यहरूलाई लिएर बुथ कमिटी गठन गरियो।
हिन्दुस्थान समाचार / हनोक