
खरसाङ, 08 मार्च (हि.स.)। अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज खरसाङ महाविद्यालयमा नारीवादी चलचित्र ‘विन्डो सिट’ को विशेष प्रदर्शन गरियो। यस अवसरमा जीटीएका सूचना अनि संस्कृति विभागका भारप्राप्त सभासद अनोश थापा, सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामा, वरिष्ठ समाज सेवक टीटी लामा, डीआईसीका पूर्व महाप्रबन्धक निमा लामा अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा समाज विकासको क्षेत्रमा सक्रिय रहेका पाँचजना महिलाहरूलाई सम्मान जनाइयो। सम्मानित हुने महिलाहरूमा आकाशवाणी खरसाङकी पूर्व वरिष्ठ कार्यक्रम प्रस्तोता तथा लेखिका छिमी अङ्मु लामा, बालबालिकाहरूको सुरक्षा र विकासको क्षेत्रमा कार्यरत ईशा लेप्चा, महिलाहरूको खेलकूदको विकासमा कार्यरत रिचाबाला छेत्री, पर्यटनको क्षेत्रमा कार्यरत प्रेक्षा शर्मा र अन्तरराष्ट्रिय किक बक्सर निशा रावत सामेल छन्।
कार्यक्रमकी एक आयोजक श्रद्धा छेत्रीले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूका साथै पुरुषहरूलाई पनि शुभकामना दिइन्। उनले परिवार र समाजको जीवनचक्र महिला र पुरुषको बराबरीको सहभागितामा चल्ने बताइन्। उनले पुरुषहरूमा पनि ‘सानैदेखि छोरा मान्छे भएर रुनु हुँदैन’, ‘छोरा भएर आँटिलो हुनुपर्छ’ भन्ने एक किसिमको मानसिक दबाउ पर्ने फरक किसिमको आफ्नो विचार उजागर गरिन्।
अमर लामाले आफ्नो छोटो वक्तव्यमा चलचित्रको क्षेत्रमा पहाड़मा राम्रा प्रतिभाहरू आइरहेको बताउँदै खुशी प्रकट गरे। उनले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सबै महिलाहरूलाई शुभकामना जनाए। छिमी अङ्मु लामाले आफ्ना कथाहरूमा सधैं नारीवाद प्रमुखता दिएर नारीहरूको संघर्षलाई प्रमुखता दिने गरेको बताइन्।
चलचित्र ‘विन्डो सिट’ का निर्देशक वाङ्गेल शेर्पाले चलचित्रको बारेमा संक्षिप्तमा बताए। कार्यक्रममा खरसाङ महाविद्यालयका विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा चलचित्र ‘विन्डो सिट’का कलाकारहरूको पनि उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक