
गान्तोक, 08 मार्च (हि.स.)। भारत सरकार अधीनस्थ साहित्य अकादमीको तत्त्वावधानमा आज गान्तोकस्थित नेपाली साहित्य परिषद्को सभागृहमा लेखकसित साक्षात्कार कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको शुरुवात प्रमुख अतिथि तथा प्रख्यात आख्यानकार राज के श्रेष्ठद्वारा दीप प्रज्वलनबाट गरिएको थियो।
कार्यक्रममा नेपाली भाषा परामर्श समिति, दिल्ली साहित्य अकादमीका सदस्य जीएस सुब्बाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित अतिथि, प्राध्यापक तथा विद्यार्थीहरूलाई स्वागत गरे। साक्षात्कार कार्यक्रमको अध्यक्षता सिक्किम विश्वविद्यालयको अङ्ग्रेजी विभागकी प्रमुख रोशी चामलिङले गरेकी थिइन्।
भाषा साहित्यका मर्मज्ञ, चित्रकार तथा गीतकारका रूपमा परिचित आख्यानकार श्रेष्ठले भारतीय नेपाली साहित्य तथा चित्रकारिताको क्षेत्रमा आफूले पुर्याएको योगदान, नेपाली साहित्य सम्मेलन हुँदै नेपाली साहित्य परिषद्को स्थान तथा आफ्ना लेखन अनुभवहरूका बारेमा विचार व्यक्त गरे। उनको विभिन्न विधामा कलमसँगै रङ्ग र क्यानभसमा पनि उत्तिकै रुचि रहेको उल्लेख गर्दै भाषा साहित्य अध्ययन गरेर बुझ्न सकिने भए तापनि चित्रकारितालाई बुझ्न भने केही जटिल हुने धारणा व्यक्त गरे।
कार्यक्रममा साहित्य अकादमीका संयोजक शङ्खर देव ढकालले नयाँ तथा पुराना साहित्यकारहरूसित भाषाका विद्यार्थीहरूको समागमले साहित्यिक क्षेत्रमा नयाँ प्रतिभाहरूको विकास हुने विश्वास व्यक्त गरे। उनले साहित्य अकादमी, नयाँ दिल्लीले भाषा साहित्यका अग्रणीदेखि उदाउँदा सर्जकहरूलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रम तथा गोष्ठीहरूको आयोजना गर्दै आएको जानकारी पनि दिए।
कार्यक्रममा नरबहादुर भण्डारी महाविद्यालयका विद्यार्थीहरू मलिका काफ्ले, पुरस्कार रेग्मी, दिनानाथ शर्मा र मन्दिर शर्माले कविता वाचन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल