
गान्तोक, 08 मार्च (हि.स.)। सिङलिङ स्पोर्टिङ क्लब, सोरेङले वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि आफ्नो नाम गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा आज उपाधिको लागि भएको अन्तिम भिडन्तमा सिङलिङ स्पोर्टिङ क्लब, सोरेङले प्रतिद्वन्दी दल गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई पराजित गऱ्यो। यस प्रतियोगिताको आयोजना सिक्किम फुटबल एसोसिएशनले जेनेराली सेण्ट्रल इन्श्योरेन्सको प्रायोजनमा गरेको थियो।
वरिष्ठ महिला फुटबल लिग 2026 को शुभारम्भ गत 24 फरवरीका दिन भएको थियो। यस प्रतियोगिता सिक्किम, दार्जिलिङ र सिलगढीका छवटा फुटबल क्लबहरूले भाग लिएका थिए। विभिन्न चरणहरू पार गर्दै र प्रतिद्वन्दी जलहरूलाई पराजित गर्दै सिङलिङ स्पोर्टिङ क्लब, सोरेङ र गान्तोक हिमालयन स्पोर्टिङ क्लब फाइनलमा पुग्न सफल बन्यो।
आज सम्पन्न फाइनलमा सिङलिङ स्पोर्टिङ क्लब, सोरेङले प्रतिद्वन्दी दललाई 6-0 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गरेको छ। विजेता दलकी खेलाडी सिमरन गुरुङलाई उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको रूपमा पुरस्कृत गरियो। यसरी नै उपविजेता दलकी गोलकिपर ग्युर्मी डोल्मा तामाङलाई उत्कृष्ट गोलकिपर चयनित गरियो।
यस अवसरमा विधायक कला राई मुख्य अतिथिका रूपमा उपस्थित थिइन्। यसरी नै विधायक आदित्य गोले र विधायक तेन्जिङ नर्बु लाम्था विशिष्ट अतिथि थिए। अन्तरराष्ट्रिय महिला दिवसलाई ध्यानमा राख्दै आयोजक संस्थाको तर्फबाट पेम्पा ल्हमु शेर्पा, ज्योति छेत्री र छिमी डोमा भोटियालाई उनीहरूका उल्लेखनीय योगदानको लागि सम्मानित गरियो।
हिन्दुस्थान समाचार / बिशाल