
विधानसभा चुनाउ अघि नै खाँटी रैथाने नागरिकहरूको नाम मतदाता सूचीमा पुनः समावेश गरियोस: आईजीजेएफ
दार्जिलिङ, 09 मार्च (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउ अघि नै खाँटी रैथाने नागरिकहरूको नाम मतदाताको सूचीमा समावेश गरियोस् भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को प्रतिनिधि टोलीले आज कोलकातास्थित राज्य निर्वाचन आयोग कार्यालयमा ज्ञापन पत्र चढाएको छ।
उक्त टोलीमा आईजीजेएफको श्रमिक संघ हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको केन्द्रिय अध्यक्ष डीके गुरूङ, पार्टी कार्यालय सचिव भीम सुनाम, तराई डुवर्सका पार्टी कोअर्डिनेटर आयुष अधिकारी र डुवर्सबाट रंजीत लकडा सामेल रहेका थिए। प्रतिनिधि टोलीले आज दिउँसो कोलकताको राज्य निर्वाचन आयोग कार्यालयमा पश्चिम बंगाल विधानसभा चुनाउ अघि नै यहाँ खाँटी रैथाने नागरिकहरूको पुनः मतदाता सूचीमा समावेश गरिनुपर्छ भन्ने माग गर्दै ज्ञापन पत्र सुम्पेको छ।
आईजीजेएफले पश्चिम बंगालमा एसआईआर प्रक्रिया अन्तर्गत दार्जिलिङ जिल्लाबाट 1 लाख 44 हजार 6 सय 48 मतदाताहरूको नाम हटाउने, आशंकाको सूचीमा समावेश गर्ने जस्ता कार्य भएको दाबी गरेको छ। पार्टीले मतदाता सूचीबाट हटाइएका र आशंकाको सूचीमा राखिएका खाँटी रैथाने नागरिकहरूको नाम मतदाता सूचीमा अविलम्ब समावेश गरिनु पर्ने माग गरेको छ।
हिन्दुस्थान समाचार / हनोक