
पश्चिम मेदिनीपुर, 19 अप्रेल (हि. स.)। जिल्लाको केशियाड़ी ब्लक अन्तर्गत खाजरा नम्बर-2 क्षेत्रमा तृणमूल कंग्रेसको बाइक ऱ्यालीलाई लिएर आइतवार तनाउपूर्ण स्थिति उत्पन्न भयो। आरोप छ, अनुमति बिनै चुनाउ आचार संहिताको उल्लंघन गरेर यो ऱ्याली आयोजना गरिएको थियो।
सूचना पाएर चुनाउ आयोगका अधिकारीहरूले घटनास्थलमा पुगेर ऱ्यालीलाई रोक्ने प्रयास गरे। यस अवधि तृणमूल कार्यकर्ताहरू र अधिकारीहरूमाझ चर्काचर्की भएको कारणले क्षेत्रको स्थिति तनाउपूर्ण भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि तत्कालै पुलिस बललाई तैनाथ गरियो। पछि प्रशासनको हस्तक्षेपले मामिला शान्त भयो। यस अवधि कुनै अप्रिय घटना घटेको समाचार प्राप्त भएको छैन।
चुनाउपूर्व भएको यस घटनालाई लिएर राजनीतिक गल्लीहरूमा चर्चा चुलिएको छ। चुनाउ आयोगको सूत्रानुसार आचार संहिता उल्लंघन गरेको आरोपको जाँच गरिँदैछ। आवश्यकता परे अग्रिम करबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा