
- श्री १०८ दामोदरदास महाराज जीको जन्मस्थल बेनलाई तीर्थ स्थानको रूपमा विकास गरिने छ: मुख्यमन्त्री
नाम्ची, 19 अप्रेल (हि.स.)। नाम्ची जिल्लाको नामफिङस्थित श्री कृष्ण प्रणामी मंगलधाममा आजदेखि हप्ताव्यापी अन्तरराष्ट्रिय जगनी महा महोत्सव धार्मिक अनुष्ठान र भक्तिपूर्ण कार्यक्रमहरूको श्रृंखलासँगै शुरु भयो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण तथा गणमान्य व्यक्तिहरू उपस्थित थिए। साथै, सिक्किम लगायत छिमेकी क्षेत्रहरूबाट पनि उल्लेखनीय संख्यामा भक्तजनको उपस्थिति थियो।
यस सात दिवसीय महोत्सवको नेतृत्व प्रख्यात आध्यात्मिक गुरुहरू गुजरातको जामनगरस्थित नवतनपुरीधामका श्री कृष्ण प्रणामी धर्माचार्य अनन्त बिभूषित जगतगुरु आचार्य श्री कृष्णमणिजी महाराजश्री, सुरतस्थित श्री ५ महामंगल पुरी धामका श्री अनन्त बिभूषित जगतगुरु आचार्य श्री सूर्यनारायण दास महाराजश्री, सिक्किमका महन्त श्री १०८ सुदाकर महाराज जी र नेपालको सिमरास्थित कृपासिंधु गुरुकुलकी श्री विदुशी उषा माताजीले गरिरहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले महोत्सवमा उपस्थिति जनाएकामा श्रद्धेय आध्यात्मिक गुरुहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनले सिक्किम असंख्य पवित्र तीर्थस्थलहरूले भरिपूर्ण रहेको र विविध धार्मिक समुदायका मानिसहरू शान्ति र सद्भावमा सहअस्तित्वमा रहेको भूमि रहेको बताए। उनले नैतिक मूल्यमान्यता र धार्मिक जीवन शैलीतर्फ डोऱ्याउन आध्यात्मिक शिक्षाको महत्त्वलाई जोड दिॅंदै श्री कृष्ण प्रणामी मंगलधाममा यस्तो महोत्सव आयोजना गर्नुलाई साँचो आशीर्वादको रूपमा वर्णन गरे।
मुख्यमन्त्रीले आफुलाई 'राज्यको प्रमुख सेवक' भनेर उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रालाई आकार दिन आध्यात्मिकताले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले जनता र राज्यको समग्र विकासको लागि सहानुभूतिमा आधारित शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले अधिकारका पदहरूसँग सम्बन्धित जिम्मेवारीहरू क्षणिक हुन्छन् भन्दै मानिसहरूले शान्तिपूर्ण र अर्थपूर्ण जीवनको लागि प्रयास गर्नुपर्छ भनी बताए। उनले राज्य सरकार सबै समुदायको आध्यात्मिक विकास र कल्याणसँग पूर्वाधार विकासलाई सन्तुलनमा राख्न प्रतिबद्ध रहेको अवगत गराए।
मुख्यमन्त्रीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले धेरै पहलहरूको घोषणा गरे, जसमा रिनाक (पाकिम जिल्ला) मा राम धाम, थार्पु (सोरेङ जिल्ला) मा श्री कृष्ण प्रणामी मंगलधाम र लेगशिप (गेजिङ जिल्ला) मा मन्दिरको पुनर्निर्माण समावेश छन्। उनले अतिथि सदनको उद्घाटन आगामी २८ अप्रेलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमको आधिकारिक भ्रमणको क्रममा भर्चुअल रूपमा गर्ने जानकारी गराए।
उनले दोदक (सोरेङ जिल्ला) मा वृन्दावन धामको निर्माण सम्पन्न हुने क्रममा रहेको र चाँडै नै उद्घाटन हुने बताए। उनले श्री कृष्णमणिजी महाराजश्रीलाई स्थल भ्रमण गर्न र निर्माणको प्रगतिको मूल्याङ्कन गर्न निमन्त्रणा दिए। मुख्यमन्त्रीले श्री १०८ दामोदरदास महाराज जीको जन्मस्थल बेन, तिमी-नामफिङलाई राज्य सरकारले तीर्थ स्थानको रूपमा विकास गर्ने घोषणा पनि गरे।
हिन्दुस्थान समाचार / बिशाल