
गान्तोक, 02 अप्रेल (हि.स.)। आम नगरपालिका चुनाउका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम मितिअघि नै बिहिवार नाम्ची नगर परिषद्का दुई उम्मेदवारले नाम्चीस्थित नगर चुनाउ अधिकारी अनुपा तामलिङको कार्यालयमा आफ्नो फिर्ता फारामहरू विधिवत रूपमा बुझाएका छन्।
अप्पर घुर्पिसे वार्डका एसकेएम उम्मेदवार पेम नर्बु भोटिया र गाङ्याप वार्डबाट निर्दलीय उम्मेदवारको रूपमा खड़ा भएकी निमा छोडेन लेप्चाले आफ्नो नामाङ्कन फिर्ता लिएका छन्, जुन एमआरओ नाम्ची तामलिङले विधिवत रूपमा स्वीकार गरिन्।
दुई उम्मेदवारले नामाङ्कन फिर्ता लिएपछि एनएमसीअन्तर्गत सबै सात वार्ड र एनजेएनपीअन्तर्गत पाँच वार्ड निर्विरोध रहेका छन्।
फलस्वरूप, जिल्लाका सबै 12 वार्डका लागि बाँकी निर्विरोध उम्मेदवारहरू यस प्रकार छन्ः
नाम्ची नगर परिषद् अन्तर्गत गाङ्याप वार्डबाट एसकेएम उम्मेदवार सरस्वती शर्मा, डम्बुडाँड़ा वार्डबाट एसकेएम उम्मेदवार अनु छेत्री, अप्पर घुर्पिसे वार्डबाट भाजपा उम्मेदवार साङ्गे भोटिया, लोअर घुर्पिसे वार्डबाट एसकेएम उम्मेदवार ममता कालिकोटे, अप्पर बुमटार वार्डबाट एसकेएम उम्मेदवार लकी तामाङ, अप्पर सिङ्गिथाङबाट एसकेएम उम्मेदवार गणेश राई र पुरानो नाम्ची वार्डबाट एसकेएम उम्मेदवार मनोजकुमार मगर रहेका छन्।
त्यसैगरी नयाँ बजार-जोरथाङ नगर पञ्चायतअन्तर्गत शान्तिनगर वार्डबाट एसकेएम उम्मेदवार सुनिलकुमार गुप्ता, त्रिकलेश्वर वार्डबाट एसकेएम उम्मेदवार मञ्जरी राई मञ्जरी राई, डाँड़ागाउँ वार्डबाट एसकेएम उम्मेदवार उमा पोर्तेल, माझीगाउँ वार्डबाट एसकेएम उम्मेदवार साम्तेन मोक्तान तामाङ र नयाँ बजार वार्डबाट एसकेएम उम्मेदवार रणदीप छेत्री निर्विरोध विजयी घोषित भएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल