भागोप्रमोले उम्मेदवार नपाएपछि दार्जिलिङमा रिजेक्ट भएको मान्छेलाई खरसाङमा उठाएको हो: बिमल गुरुङ
बिमल गुरुङ


खरसाङ, 02 अप्रेल (हि.स.)। 'खरसाङमा उम्मेदवार बनाउन कोही नपाएको? खरसाङमा शिक्षित र लिडरशीप गर्ने कोही छैनन्? दार्जिलिङमा रिजेक्ट भएको मान्छेलाई खरसाङमा उठाएको छ। तर, सोनाम लामा त खरसाङकै भूमिपुत्र हुन्।' उक्त कुरा आज गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष बिमल गुरुङले खरसाङमा भनेका हुन्।

उनले खरसाङमा भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाको पक्षमा चुनावी सभालाई सम्बोधन गर्दै पहाडमा सर्वप्रथम कमलको फूल फुलाउने गोर्खा जनमुक्ति मोर्चा रहेको बताए। उनले ब्यंग्य गर्दै भागोप्रमो खरसाङका उम्मेदवार असर लामालाई औल्याउँदै दार्जिलिङबाट रिजेक्ट भएको व्यक्तिलाई खरसाङमा ल्याएर उठाएको बताए।

गुरूङले आफ्नो कार्यकालमा खरसाङलाई धेरै कुरा दिएको दाबी गर्दै वर्तमान जीटीएका प्रशासकहरूले केही नदिएको र भएकोहरूलाई पनि लिजमा दिएको आरोप लगाए। उनले गिद्ध पहाड नजिकको रोप वे, खरसाङ पोलेटेक्निक नजिकको ट्याक्सी स्ट्याण्ड लगायत अन्य विकासमूलक कार्यहरू अझसम्म थाँतीमा नै राखेको जनाउँदै अब यसको लेखाजोखा हुने बताए।

गुरूङले सोनाम लामा खाँटी खरसाङका एक युवा नेता रहेको उल्लेख गर्दै उनको जीत निश्चित रहेको दाबी गरे। केही समय अघि भाजपासँग भएको तिनको असन्तुष्टिबारे उल्लेख गर्दै गुरूङले यस सम्बन्धमा भाजपाका वरिष्ठ नेताहरू तथा गृह मन्त्री स्वयंले पनि गोर्खाहरूको निम्ति अवश्य नै राम्रो हुने प्रतिश्रुति दिएको फलस्वरूप नै यसपल्ट पनि भाजपालाई सहयोग गरेको बताए।

उनले यसपाली बङ्गालसँगै दार्जिलिङ पहाडमा पनि परिवर्तन आउनुपर्छ भन्ने उद्देश्यले पुनः एकचोटि भाजपालाई गोजमुमोले सहयोग गरेको स्पष्ट पारे। उनले खरसाङवासीलाई यसपल्ट सचेत भएर भोट हाल्ने आग्रह गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande