
— भ्रष्टाचारमुक्त पहाडको लागि परिवर्तन आवश्यक छ: बन्दना राई
खरसाङ, 02 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) की उम्मेदवार बन्दना राईले आफ्नो नामाङ्कन पत्र बुझाएकी छन्। नामाङ्कन पत्र बुझाउन अघि राईको समर्थनमा खरसाङमा एक भव्य र्याली आयोजन गरिएको थियो।
बिहिबार बिहान भारतीय जनता पार्टी र दिउॅंसो आईजीजेएफ उम्मेदवारले नामाङ्कन पत्र बुझाए। आईजीजेएफ उम्मेदवार बन्दना राईको समर्थनमा स्थानीय बस टर्मिनलदेखि र्याली आयोजना गरियो, जुन मोटर स्ट्याण्डमा आइपुगेर एक चुनावी सभामा परिणत भयो। उक्त चुनावी सभालाई आईजीजेएफ केन्द्रिय संयोजक अजय एडवर्ड्स र उम्मेदवार बन्दना राईले सम्बोधन गरेका थिए।
चुनावी सभापछि पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासकको कार्यालय पुगेर बन्दना राईले आफ्नो नामाङ्कन पत्र बुझाइन्। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रिय संयोजक अजय एडवर्ड्स र उम्मेदवार बन्दना राईले पहाडमा परिवर्तनको लागि जनतालाई भोट दिन अपील गरे। उनीहरूले यसपाली आईजीजेएफ परिवर्तनको नाराका साथमा चुनावी मैदानमा उत्रेको बताए।
बन्दना राईले भनिन्, 'जनताको आर्शीवादले भ्रष्टाचारमुक्त पहाडको स्थापना गर्नेछौं। तपाईहरूको बहुमूल्य भोट गोर्खाल्याण्ड हुनैपर्छ भन्नेलाई भोट दिनुहुन्छ कि गोर्खाल्याण्ड होवेना भन्नेलाई दिनु हुन्छ? हामीले जय गोर्खा, जय गोर्खाल्याण्डभन्दा गोर्खाहरूको भावनासँग खेल्यो भन्ने आरोप लगाउँछ। तर म गोर्खा हो, गोर्खाल्याण्ड मेरो जन्मसिद्ध अधिकार हो।'
बन्दना राईले अघि भनिन्, 'दार्जीलिङ पहाडले परिवर्तन खोज्दैछ। यो परिवर्तनको लहरमा तपाईहरूको साथ अति नै जरूरी छ। परिवर्तनको मार्गमा हिड्दा तपाईहरूलाई यदि कसैले डर र धम्की दिन्छ भने हामीलाई भन्नु होस, हामी त्यसको सही जवाफ दिनेछौं। पहाडमा पढे लेखेका युवा भाई बहिनीहरू धेरै छन्। उच्च शिक्षा हासिल गर्नलाई उनीहरू पहाड छाडेर जानु बाध्य छन्। यहाँ रोजगारको कुनै व्यवस्था छैन। भोलिको सुन्दर पहाड बनाउनलाई यो परिवर्तनको मार्गमा तपाई हामी एकबद्ध हुन जरूरी छ।'
हिन्दुस्थान समाचार / हनोक