नेपाली साहित्य परिषद् सिक्किमले वैशाखी पर्व 2083 पालन गर्ने
नेपाली साहित्य परिषद् सिक्किमले वैशाखी पर्व 2083 पालन गर्ने


गान्तोक, 02 अप्रेल (हि.स.)। नेपाली साहित्य परिषद् सिक्किमले आगामी १४ अप्रेल २०२६ को दिन वैशाखी पर्व 2083 भव्यताका साथ पालन गर्ने निर्णय लिएको छ। बिहिवार नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय लिएको हो।

गान्तोकमा आयोजन गरिने वैशाखी पर्वमा अतिथि कलाकार एवम् स्थानीय कलाकारद्वारा नेपाली गीत-सङ्गीतको सुमधुर प्रस्तुतिसँगै स्थापित एवम् नवोदित कविहरूका रोचक सिर्जनाहरू प्रस्तुत हुनेछन्। परिषदले नेपाली साजबाज र पुरातन सामग्री एवम् पुस्तक प्रदर्शनी राख्ने पनि निर्णय लिएको छ।

यसै समारोहमा हालै साहित्य अकादेमी पुरस्कारद्वारा विभूषित सिक्किमका वरिष्ठ साहित्यकार सीपी भट्टराईलाई पनि नेपाली साहित्य परिषद् सिक्किमले बधाईस्वरूप अभिनन्दन जनाउने निर्णय लिएको छ। नेपाली संस्कृति, कला र साहित्यको सङ्गमका रूपमा पालन गरिने यस समारोहमा वैशाखी पर्वको महत्त्वमाथि वरिष्ठ साहित्यकार एवम् चिन्तक भीम ठटालद्वारा वार्ता प्रस्तुत गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande