
मङ्गन, 23 अप्रेल (हि.स.)। पोषण पखवाडा अन्तर्गत सञ्चालन गरिएका विभिन्न पोषणसम्बन्धी गतिविधिहरूको आज जङ्गुको पासिङदाङ बीएसीमा जिल्लास्तरीय समापन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा जङ्गुका बीडीओ डा. महेन्द्र तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा स्वयं सहायता समूहका सदस्यहरू, स्थानीय बासिन्दा, युवा, आङ्गनवाडी कार्यकर्ताहरू, सुपरभाइजरहरू लगायत जिल्ला समन्वयक, ब्लक समन्वयक आदि उपस्थित थिए।
कार्यक्रमको शुरुवातमा जङ्गुका सीडीपीओ नेटुक लेप्चाले पोषण पखवाडाको महत्वबारे प्रकाश पार्दै राम्रो पोषण उपलब्धिका लागि सामुदायिक सहभागिताको आवश्यकतामा जोड दिए। यसरी नै सीडीपीओ मङ्गन सोनाम ल्हादेन लाचुङ्पाले ‘पोषण भी पढाई भी’ अभियानमार्फत प्रारम्भिक बाल शिक्षा र पोषणको एकीकरणबारे चर्चा गरिन्। मुख्य अतिथि डा. महेन्द्र तामाङले आफ्नो सम्बोधनमा ‘स्वच्छ भारत’ अभियानको महत्वबारे चर्चा गर्दै फोहोर व्यवस्थापन तथा छुट्याउने प्रक्रियामा जोड दिए। उनले स्वस्थ, सुरक्षित तथा स्वच्छ जङ्गु निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
कार्यक्रममा पौष्टिक स्थानीय खाद्यको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले रेसिपी प्रतियोगिता तथा स्थानीय जैविक तरकारीहरूको प्रदर्शनी पनि आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरियो।
हिन्दुस्थान समाचार / बिशाल