सिक्किमेली महिलाहरूले निर्णय प्रक्रिया र नीति निर्माणमा सक्रिय भूमिका खेल्नुपर्छ: सीएपी
सीएपी महिला परिषद्को बैठक


गान्तोक, 23 अप्रेल (हि.स.)।सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको महिला परिषद्को समन्वय बैठक आज पार्टी मुख्यालयमा केन्द्रिय कार्यकारिणी समितिकी उपाध्यक्ष तथा महिला परिषद् सल्लाहकार सञ्जु राईको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा महिला परिषद् उपाध्यक्ष (प्रभारी) सुमति छेत्री, परिषद् अध्यक्ष बिना शर्मा तथा पार्टीका विभिन्न महिला नेतृहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैठकमा गान्तोक जिल्ला अध्यक्ष शान्ति तामाङ र पाकिम जिल्ला अध्यक्ष कर्मा दिचेन भोटियाले आ-आफ्नो जिल्लाको प्रगति प्रतिवेदन प्रस्तुत गरे। सोही अनुसार गान्तोक र पाकिम जिल्लाका महिला परिषद्का जिल्ला स्तरीय कार्यकारिणी समितिहरूको पनि मनोनयन गरिएको छ।

बैठकमा “नारी शक्ति वन्दन ऐन २०२६” विषयमा विस्तृत छलफल भयो। देशभरका महिला हितलाई ध्यानमा राख्दै पार्टीले विभिन्न महिला नेतृ, संस्था तथा व्यक्तिहरूसँग व्यापक परामर्श गरिरहेको जनाएको छ। महिलाहरूलाई केवल ३३ प्रतिशत आरक्षणमा सीमित राख्न नहुने र समान अधिकार तथा न्याय सुनिश्चित गर्न गहिरो सोच आवश्यक रहेकोमा जोड दियो। वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै ३३ प्रतिशत आरक्षणबाट ११ महिला प्रतिनिधि विधानसभा पुग्न सक्ने भए पनि कुल जनसंख्याको ५० प्रतिशत रहेका महिलाहरूका अधिकार सुनिश्चित गर्न सक्षम नेतृत्व विकास आवश्यक रहेको स्पष्ट पारियो।

सभाध्यक्ष राईले आफ्नो सम्बोधनमा राज्यमा महिलाविरुद्ध बढ्दो हिंसा र अपराधप्रति गहिरो चिन्ता व्यक्त गरिन्। आगामी निर्वाचनमार्फत समग्र विकास, महिला सुरक्षा सुदृढीकरण तथा भ्रष्टाचार नियन्त्रणका लागि दृढ़ र प्रभावकारी निर्णय लिइने उनले विश्वास व्यक्त गरिन्।

उनले सीएपी सिक्किमले सधैं महिलाको निर्णय प्रक्रियामा सहभागिता र पार्टीका सबै परिषद्हरूमा प्रतिनिधित्व सुनिश्चित गर्दै आएको बताइन्। आफ्नै अनुभव साझा गर्दै उनले चुनौतीहरुका बावजुद सिक्किमेली महिलाहरूले निर्णय प्रक्रिया र नीति निर्माणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

बैठकलाई अन्य महिला नतृहरूले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande