
सोरेङ, 24 अप्रेल (हि.स.)। जिल्ला बाल संरक्षण एकाइ, सोरेङ जिल्लाले नर्थइस्ट सपोर्ट सेन्टर एण्ड हेल्पलाइनसँगको सहकार्यमा हातिढुङ्गा माध्यमिक विद्यालयमा महिला तथा बाल संरक्षण, कानुनी अधिकार र सामुदायिक जिम्मेवारीसम्बन्धी विषयमा एक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला बाल संरक्षण एकाइका अधिकारीहरू, कानुनी विज्ञहरू, स्वास्थ्यकर्मीहरू तथा हातिढुङ्गा वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा हातिढुङ्गा वरिष्ठ माध्यमिक विद्यालयका स्नातक शिक्षक (कला) एनटी लेप्चाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आधारभूत तहमा सचेतना बढाउनुको आवश्यकता औंल्याए।
महिलाका कानुनी अधिकारसम्बन्धी विषयमा विस्तृत जानकारी दिँदै उच्चतम न्यायालयकी अधिवक्ता ए. गोलमेईले समुदायमा कानुनी साक्षरताको आवश्यकतामा जोड दिइन्।
रिन्चेनपोङ पीएचसीकी चिकित्सा अधिकृत डा प्रिया डोमा तामाङले किशोरावस्थासम्बन्धी स्वास्थ्य समस्याहरूबारे प्रकाश पार्दै प्रारम्भिक हस्तक्षेप र शिक्षाको महत्त्वमा जोड दिइन्।
जिल्ला बाल संरक्षण अधिकारी, सोरेङ पिटर राईले ‘मिशन वात्सल्य’ योजना तथा जिल्ला बाल संरक्षण एकाइद्वारा प्रदान गरिने सेवाहरूबारे जानकारी दिँदै पोक्सो एक्ट अन्तर्गत दर्ता भएका मुद्दाहरू तथा अन्य बालसम्बन्धी घटनाहरूको अवस्थाबारे जानकारी दिए।
हिन्दुस्थान समाचार / बिशाल