
गान्तोक, 24 अप्रेल (हि.स.)। जिल्ला बाल संरक्षण एकाइ (गान्तोक), महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग अन्तर्गत सञ्चालन भइरहेको ‘मिशन वात्सल्य’ योजनाले स्वास्थ्य विभागसँगको सहकार्यमा गान्तोक जिल्लाको खाम्दोङस्थित हेल्थ वेलनेस सेन्टर, सब सेन्टरमा “क्रेडल बेबी पोइन्ट” सफलतापूर्वक स्थापना गरेको छ। यो पहल असुरक्षित अवस्थामा रहेका नवजात शिशुहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो।
यस पहलको उद्देश्य आफ्ना नवजात शिशुको हेरचाह गर्न असमर्थ अभिभावक वा संरक्षकहरूका लागि सुरक्षित, गोप्य र भरपर्दो विकल्प उपलब्ध गराउनु हो, जसले बाल परित्यागका घटनाहरू रोक्न मद्दत गर्नुका साथै प्रत्येक बालबालिकाले उचित हेरचाह र संरक्षण पाउने सुनिश्चित गर्दछ।
क्रेडल बेबी पोइन्टमा आवश्यक सुरक्षा सामग्रीहरू उपलब्ध गराइएको छ। नवजात शिशु प्राप्त भएपछि अस्पताल प्रशासनद्वारा तुरुन्तै स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार प्रदान गरिनेछ। त्यसपछि सम्बन्धित कानुनी प्रावधानअनुसार नजिकको दत्तक केन्द्रमा स्थानान्तरण गरी दत्तक प्रक्रिया अगाडि बढाइनेछ।
कार्यक्रमको शुरुवातमा जिल्ला बाल संरक्षण अधिकारी, गान्तोकले अस्पताल परिसरमा क्रेडल बेबी पोइन्ट स्थापना गर्नुको महत्त्वबारे जानकारी गराए। उनले यो सुविधाले नवजात शिशुका लागि सुरक्षित स्थान उपलब्ध गराउनुका साथै अविवाहित आमाहरू तथा शिशुको हेरचाह गर्न असमर्थ अभिभावकहरूलाई आफ्नो पहिचान खुलाउनुपर्ने बाध्यता बिना शिशु सुरक्षित रूपमा हस्तान्तरण गर्ने अवसर प्रदान गर्ने बताए।
---------------
हिन्दुस्थान समाचार / बिशाल