
नगाउँ (असम), 24 अप्रेल (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत मोरिकलोङ्ग क्षेत्रमा गए अबेर राती एउटा मुटु नै काँप्ने डकेतीको घटना घट्यो जहाँ अज्ञात उपद्रवीहरूले एकजना चिकित्सकको घरमा पसेर लुटपाट गरे अनि चिकित्सक दम्पत्तिमाथि हमला पनि गरे। हाल दुवैको उपचार भइरहेको छ।
आज पुलिसद्वारा दिइएको जानकारी अनुसार चिकित्सक डा. रञ्जीत सौकियाको आवासलाई लक्षित गर्दै उपद्रवीहरूले घरमा पसेर लुटपाट गरे। यस अवधि उपद्रवीहरूले डा. सौकिया र उनकी पत्नीमाथि प्राणघातक हमला गरे जसले गर्दा दुवै गम्भीर रूपमा घाइते भए।
हमलामा घाइते चिकित्सक दम्पत्तिलाई गुवाहाटीको एक अस्पतालमा भर्ती गरिएको छ। डा. सौकियाको पत्नीलाई उपचारको निम्ति अपोलो अस्पतालमा भर्ती गरिएको छ जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि पुलिसले मामिला दर्ता गरी अनुसन्धान कार्य शुरू गर्दै आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा